विराटनगर, २८ भदौ । खानपान र जीवनशैलीमा ध्यान नदिँदा महिनावारी रोकिएपछि धेरै महिलालाई विभिन्न समस्याले सताउने गर्छ ।
महिलाहरूमा महिनावारी रोकेपछि हुने परिवर्तनको बारेमा धेरैलाई थाहा हुँदैन । महिनावारी रोकिएपछिका समस्याबारे जानकारी नहुँदा ठूलै रोग लागेको महसुस हुने कारण धेरै महिला डिप्रेसनमा जाने गरेकोसमेत पाइन्छ । महिनावारी सुकेपछि के–कस्ता लक्षणहरू देखिन सक्छन् भन्ने कुरा महिलालाई थाहा हुनुपर्छ ।
महिनावारी सुकेका वा रजनोवृत्ति भएका कतिपय महिलामा एस्ट्रोजन हर्मोनको कमीले हाडजोर्नी खिइने, ओस्टियोपोरोसिस अर्थात् हड्डी कमजोर हुने र सामान्य दुर्घटनामै हड्डी भाँच्चिने समस्या हुन्छ । साथै, पसिना आउने, मुड परिवर्तन हुने, थकाइ लाग्ने, बोल्न मननलाग्ने, दिक्क लाग्ने, रिस उठिरहने, निद्रा नलाग्ने जस्ता समस्याहरू हुन सक्छ ।
नेपाली महिलाहरूको महिनावारी सुक्ने औसत उमेर ४७ वर्ष बताइएको छ । तर, जीवनस्तरमा सुधार ल्याउँदा महिनावारी रोकिने उमेर बढ्दै जाने चिकित्सकहरू बताउँछन् । महिनावारी रोकिएपछि हुने समस्याको समाधानमा भन्दा त्यसको रोकथामका लागि किशोरावस्थादेखि नै उपयुक्त खानपान र व्यायाम गर्न जरुरी हुन्छ ।
हरेक महिलाले आफ्नो जीवनकालमा भोग्ने यस्ता समस्याबारे सरकारी तहबाटै अध्ययन अनुसन्धान थाल्नुपर्ने विज्ञहरू बताउँछन् ।