Rumpum

Rumpum Advertisement

सिन्धुपाल्चोक पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक पहिरो : पाँचको शव निकालियो, ३१ बेपत्ता

सिन्धुपाल्चोक, २८ भदौ । बाह्रबिसे–७ घुम्थाङमा पहिरा जाँदा पुरिएका पाँचजनाको शव भेटिएको छ । नागपुजेकी ७० वर्षीया भक्तिमाया श्रेष्ठ तथा विक गाउँका २४ वर्षीया जुनुमाया विक र ४० वर्षीय सर्किनी प्रधानको शव भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए । दुईजनाको सनाखत हुन बाँकी छ ।

पहिरामा पुरिएर ३१ जना बेपत्ता भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहित स्थानीय युवा उद्दारमा खटिएका छन् । पहिरामा परी घाइते भएका तीन जनालाई प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा ल्याइएको छ ।

सभामुख सापकोटा पहिरोस्थलमा

सभामुख अग्निप्रसाद सापकोटा घुम्थाङको पहिरो अवलोकन गर्न घटनास्थल पुगेका छन् । उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार स्थलमार्ग हुँदै सभामुख सापकोटा घुम्थाङ पुगेका हुन् । उनीसँगै नेकपा केन्द्रीय सदस्य माधवप्रसाद सापकोटालगायत नेताहरु पनि घटनास्थल पुगेका छन् ।

लिदीका पहिरोपीडितलाई सहयोग

गैरआवासीय नेपाली संघ नेदरल्यान्डसले जुगल गाउँपालिका–२ स्थित लिदीका पहिरोपीडितलाई आर्थिक सहयोग उपलब्ध गराएको छ । एनसीसी नेदरल्यान्डसले संकलन गरी पठाएको दुई लाख १८ हजार ५२६ पहिरोपीडितको अस्थायी बस्ती बासखर्क पुगेर संघका आईसीसी उपाध्यक्ष सोनाम लामाले हस्तान्तरण गरे । उनले वडाध्यक्ष प्रताप लामालाई सहयोग चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा एनआरएनएका तर्फबाट बहराइनका पूर्वअध्यक्ष तथा एनआरएनए लाप्राक प्रोजेक्टका सहसंयोजक श्याम तामाङ पनि सहभागी थिए ।

जुगलमा गत साउन ३० गते गएको पहिरोमा ३९ जना बेपत्ता भएकामा अहिलेसम्म ३७ जनाको शव फेला परेको छ भने दुईजना अझै बेपत्ता छन् ।