Rumpum

Rumpum Advertisement

वृद्धाको होम आइसोलेसनमै मृत्यु

वृद्धाको होम आइसोलेसनमै मृत्यु

चितवन, २८ भदौ । जिल्लामा होम आइसोलेसनमा बसेकी एक कोरोना संक्रमित वृद्धाको आज बिहान मृत्यु भएको छ । भरतपुर महानगरपालिका–५ की ८५ वर्षीया वृद्धाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए । उनको आज बिहान ६ बजे मृत्यु भएको हो ।

दीर्घरोगी उनको भदौ ११ गते नमूना संकलन गरिएको थियो । भदौ १५ कोरोना संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसिरहेकी थिइन् । यसअघि खैरहनी नगरपालिकामा १०८ वर्षीया वृद्धाको घरमै मृत्यु भएपछि कोरोना पुष्टि भएको थियो ।

यससँगै जिल्लाका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । बाहिरी जिल्लाका सहित यहाँ उपचारका क्रममा मृत्यु हुनेको संख्या भने २७ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।