Rumpum

Rumpum Advertisement

सिन्धुपाल्चोक पहिरोमा २८ जना बेपत्ता, तीनको मृत्यु

सिन्धुपाल्चोक पहिरोमा २८ जना बेपत्ता, तीनको मृत्यु

विराटनगर, २८ भदौ । यस वर्ष बाढी र पहिरोको चपेटमा परेको सिन्धुपाल्चोकमा गएको भीषण पहिरोमा परेर २८ जना बेपत्ता भएका छन् । तीनजनाको मृत्यु भएको छ ।

पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । भीरखर्कका १० र नाग पुच्छेका आठ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । अरु थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको भए पनि क्षतिको विवरण प्राप्त हुन नसकेको जनाए । बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोले १८ घर बगाउँदा ठूलो क्षति भएको जानकारी दिए ।

आइतबार बिहान २ बजेतिर परेको भीषण वर्षासँगै ठाडो खोलामा आएको बाढीले बस्तीमा क्षति पुर्याएको हो । पहिरो गएको स्थानबाट मृत्यु भएको अवस्थामा तीन जनाको शव भेटिएको छ । ६५ वर्षीया भक्तिमाया श्रेष्ठ, २३ वर्षीया जुनुमाया विक र ६० वर्षीया सर्किनी नेवारको पहिरोमा परेर मृत्यु भएको प्रजिअ ढकालले जानकारी दिए ।

सभामुख अग्नि सापकोटासहितको टोली पनि बिहानै स्थलमार्गबाट पहिरो प्रभावित क्षेत्रतर्फ लागेको छ ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।