कोरोना भाइरसविरुद्धको खोपको परीक्षण पुनः सुरु हुने

विराटनगर, २८ भदौ । परीक्षणका क्रममा खोप दिइएका व्यक्तिको स्वास्थ्यमा गम्भीर असर देखिएपछि बन्द भएको कोरोना भाइरसविरुद्धको खोपको अन्तिम परीक्षण पुनः सुरु हुने भएको छ ।

अक्सफोर्ड विश्वविद्यालयले एस्ट्राजेनेकासँगको सहकार्यमा बनाएको खोपको मानवीय परीक्षण पुनः सुरु हुन लागेको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार खोपको परीक्षण पुनः सुरु गर्ने तयारी भइरहेको बताएको एस्ट्राजेनेकाले गएको मंगलबार गम्भीर रियाक्सन खोपसँग सम्बन्धित हो वा होइन भन्ने बारे अध्ययन भइरहेको बताएको थियो ।

बेलायतमा भइरहेको परीक्षणका क्रममा खोप दिइएका व्यक्ति गम्भीर बिरामी परेपछि तत्कालका लागि परीक्षण रोकिएको थियो । तर शनिबार अक्सफोर्ड विश्वविद्यालयले खोपको परीक्षण गर्न सुरक्षित रहेको निष्कर्ष निकालिएको र चाँडै तेस्रो चरणको परीक्षणलाई पुनः निरन्तरता दिइने बताएको छ ।

बेलायतका स्वास्थ्य मन्त्री म्याट ह्यानककले खोपको परीक्षण पुनः सुरु गर्ने कुराको स्वागत गरेका छन् । कोरोना भाइरसविरुद्धको खोपको परीक्षण भइरहँदा त्यसको नतिजालाई विश्वले नियालिरहेको छ।

एस्ट्राजेनेका–अक्सफोर्ड विश्वविद्यालय खोपलाई विश्वभर विकास गरिँदै गरेका खोपहरुमध्ये सबैभन्दा आश गरिएको र चाँडो उपलब्ध हुने खोपका रुपमा अपेक्षा गरिएको छ ।

मानवीय परीक्षणको पहिलो र दोस्रो चरणमा राम्रो नतिजा आएपछि यो खोपलाई लिएर विश्वभर अपेक्षा बढेको थियो । तर तेस्रो चरणको परीक्षणमा गम्भीर रियाक्सन देखिँदा केही समय रोकिए पनि पुनः सुरु हुन थालेको हो ।

तेस्रो चरणको परीक्षणमा ३० हजार मानिसको सहभागिता रहेको छ अमेरिका, बेलायत, ब्राजिल र दक्षिण अफ्रिकामा । तेस्रो चरणको परीक्षण ठूलो संख्यामा गरिने बीबीसीले जनाएको छ ।

अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावअघि नै खोप प्रयोगमा ल्याउने बताएका छन् । राष्ट्रपति उम्मेदवार जो बाइडनेले सुरक्षित खोपको विकल्प नरहेको तर ट्रम्पले खोपलाई राजनीतिक स्वार्थ पूर्तिको माध्यम बनाउन खोज्दा सर्वसाधारणको स्वास्थ्य जोखिममा आउनेतर्फ सचेत गराएका छन् ।

Loading...