Rumpum

Rumpum Advertisement

हत्या आरोपीलाई इरानमा मृत्युदण्ड

हत्या आरोपीलाई इरानमा मृत्युदण्ड

विराटनगर, २८ भदौ । हत्याको आरोप लागेका एक युवालाई इरानको दक्षिणी शहर शिराजमा झुन्ड्याएर मृत्युदण्ड दिइएको छ ।

अन्तर्राष्ट्रिय रुपमा फाँसी नदिनका लागि अपिल भइरहँदा २७ वर्षका रेस्लर नाविद अफ्कारीलाई मृत्युदण्ड दिइएको इरानको सरकारी सञ्चारमाध्यमले जनाएको छ। इरानमा उनलाई सन् २०१८ मा भएको सरकारविरोधी प्रदर्शनको क्रममा सुरक्षा गार्डको हत्यामा दोषी ठहर गरेर मृत्युदण्ड दिएको जनाइएको छ ।

तर मृत्युदण्ड दिनुअघि नाविदले भने नगरेको अपराध कबुल गराउनका लागि आफूलाई गम्भीर यातना दिने गरिएको बताएका थिए। नाविदलाई मृत्युदण्ड दिएपछि घटनाको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेशनलले विरोध जनाएको छ । उसले यस घटनालाई न्यायको गलत व्याख्या र न्यायको हत्याका रुपमा परिभाषित गरेको छ।

चुहावट भएको सन्देशमा नाविदले भनेका छन्, ‘यदी मलाई फाँसी दिइयो भने तपाईँहरुले यो बुझ्नु कि एक निर्दोष व्यक्तिले उसको बलबुताले भ्याएसम्म प्रयास गर्दा पनि ज्यान जोगाउन सकेन र फासी पाउन बाध्य भयो।’

फाँसीअघि परिवारका सदस्यलाई भेट गर्न पनि नदिइएको नाविदका वकिलले बताएका छन्। इरानको कानूनले फाँसीअघि आफन्तसँग भेट गर्न पाउने व्यवस्था गर्छ।