कोरोनाले विदेशमा थप ४३ नेपालीको मृत्यु

विराटनगर, २८ भदौ । विदेशमा कोरोना भाइरस संक्रमणका कारण थप ४३ जना नेपालीको मृत्यु भएको पुष्टि यो साता गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिले गरेको छ ।

गत मार्च महिना यता साउदी अरबमा मात्रै ४१ जना नेपालीले कोरोनाका कारण ज्यान गुमाएका थिए । साउदीमा मात्रै हालसम्म ५२ जनाको मृत्यु भइसकेको साउदी अरबका लागि नेपाली राजदूत डा. महेन्द्र सिहं राजपुतले बताएको समितिले जनाएको छ ।

यो साता कतारमा दुई नेपालीले कोरोनाका कारण ज्यान गुमाए । विभिन्न १६ देशमा कोरोनाले ज्यान गुमाउने नेपालीको संख्या हालसम्म दुई सय ४३ पुगेको स्वास्थ्य समितिका संयोजक संजीव सापकोटाले बताए। उनले हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिण अफ्रिका लगायत १६ देशमा रहेका नेपालीहरुले ज्यान गुमाएको बताए । उनका अनुसार यो साता स्पेन, पोल्याण्ड, भारत, कतार, र साउदी अरब लगायतका देशमा कोरोना संक्रमणदर सामान्य रुपमा वृद्धि भएको छ।

समितिका अनुसार हालसम्म विश्वका ४० देशमा रहेका नेपालीहरु कोरोना भाइरसबाट संक्रमित भएका छन्। विश्वभर ९० हजार सात सय ६७ जना नेपालीमा संक्रमण देखिएको छ । संक्रमितमध्ये ७१ हजार ७ सय १७ जना कोरोना मुक्त भएका छन् ।

कोरोना भाइरसको संक्रमणपछि भएको विश्वव्यापी लकडाउनका कारण विदेशमा अलपत्र परेका, आफन्तकोमा गएर उतै रोकिएका र अन्य विविध कारण स्वदेश फर्कन नपाएका नेपालीको उद्धार कार्य जारी छ । हालसम्म गैरआवासीय नेपाली संघ, नेपाल सरकारका विदेशस्थित दूतावास तथा नियोगहरुको संयुक्त पहलमा ३० देशमा रहेका ६१ हजार सात सय १० जना नेपालीको उद्धार गरिएको छ ।

साउदीस्थित नेपाली राजदूताबासका अनुसार साउदी अरबमा कोरोना लगायत अन्य विभिन्न कारणले निधन भएका ६० जना नेपालीको शव नेपाल ल्याउन बाँकी छ । साउदी अरबका लागि नेपाली राजदूत राजपुतका अनुसार ती शव नेपाल पठाउने प्रक्रियामा रहेका छन् ।

समितिका संयोजक सापकोटाले विदेशबाट नेपाल फर्किएकालाई १४ दिन अनिवार्य क्वारेन्टिन बस्न अनुरोध गरेका छन्। विदेशमा पीसीआर परिक्षण गराएर नै स्वदेश जाने भएतापनि स्वास्थ्य सावधानीका लागि नेपाल सरकारले तोकेअनुसार क्वारेन्टिनमा बस्न र स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन डा। सापकोटाले आग्रह गरेका हुन्।

संक्रमण जुनसुकै बेला पनि हुनसक्ने जोखिम रहेकाले यात्रापछि पनि ज्वरो आउने, सास फेर्न गाह्रो हुने, निरन्तर खोकी लाग्ने जस्ता समस्या देखिए तुरुन्त स्वास्थ्य संस्थामा जचाउन पनि उनले अनुरोध गरे।

Loading...