Rumpum

Rumpum Advertisement

विनालाइसेन्स मोटरसाइकल कुदाउँदा दुर्घटना, महिलाको मृत्यु

विनालाइसेन्स मोटरसाइकल कुदाउँदा दुर्घटना, महिलाको मृत्यु

विराटनगर, २८ भदौ । लाइसेन्स (सवारीचालक अनुमतिपत्र) प्राप्त नगरेका चालकले कुदाएको मोटरसाइकलका कारण विराटनगरमा दुर्घटना भएको छ ।

तीव्र गतिमा रहेको को७प ५३३१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा घाइते भएकी एक महिलाको उपचारका क्रममा आइतबार बिहान मृत्यु भयो । दुर्घटनामा घाइते भएकी विराटनगर महानगरपालिका–१३ की ४० वर्षीया मीरा ठाकुरको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राकेश पोदारले बताए ।

उनका अनुसार विराटनगर–१० शान्ति चोकमा तीव्र गतिमा रहेको मोटरसाइकलले महिलालाई शनिबार दिउँसो १ बजे ठक्कर दिएर घाइते बनाएको थियो । मोटरसाइकलको ठक्करबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी ठाकुरको उपचार हुँदै गर्दा न्युरो अस्पतालमा आइतबार बिहान ६ बजे मृत्यु भएको जानकारी पोदारले दिए ।

मोटरसाइकल चालक विराटनगर–८ का १९ वर्षीय जीयालाल राजवंशीलाई नियन्त्रणमा लिई प्रहरीले घटनाको अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानबाट मोटरसाइकल चालक राजवंशीले लाइसेन्सबिना नै मोटरसाइकल चलाएको खुलेको छ ।