सिन्धुपाल्चोकमा फेरि गयो पहिरो, १८ घर बगे, कम्तीमा १२ जना बेपत्ता

विराटनगर, २८ भदौ । यस वर्ष बाढी र पहिरोको ठूलो विपद्मा परिरहेको सिन्धुपाल्चोकमा फेरि भीषण पहिरो गएको छ ।

पहिरोले बाह्बिसे नगरपालिका ७ घुम्थाङको १८ घर बगाएको छ । कम्तीमा १२ जना बेपत्ता भएको अनुमान गरिएको छ ।

भीरखर्कका १० र नाग पुच्छेका आठ घर र किम्बे गाउँ पहिरोले बगाएको इलाका प्रहरी कार्यालय बाह्बिसेका प्रहरी निरिक्षक नवराज न्यौपानेले जानकारी दिए । थप बिवरण आउन बाँकी छ । ठाडो खहरे खोलाको बाढीसँगै पहिरो गएको स्थानीय श्याम गोलेले बताए ।

प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालले घटनास्थलमा सेना, सशस्त्र र नेपाल प्रहरीको टोली पठाइएको भए पनि क्षतिको विवरण प्राप्त हुन नसकेको जनाए ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुन्जो शेर्पाका अनुसार पहिरोले १८ घर बगाउँदा कम्तीमा १२ जना मानिस बेपत्ता भएको आशंका गरिएको छ । आइतबार बिहान २ बजेतिर परेको भीषण वर्षासँगै ठाडो खोलामा आएको बाढीले बस्तीमा क्षति पुर्याएको हो ।

सिन्धुपाल्चोकमा गत साउन ३० गतेयता पटक पटक बाढी र पहिरो आउँदा ठूलो मानवीय क्षति भएको छ । गत साउन ३० गते विहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा पुरिएर ३७ जनाको मृत्यु भएको थियो । दुईजना अझै बेपत्ता छन् ।

Loading...