Rumpum

Rumpum Advertisement

सालाहको ह्याट्रिकमा लिभरपुलको जित

सालाहको ह्याट्रिकमा लिभरपुलको जित

एजेन्सी, २८ भदौ । नयाँ सिजनको प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन लिभरपुलले सुखद सुरुआत गरेको छ । शनिबार राति सिजनको पहिलो खेल खेलेको लिभरपुलले नवप्रवेशी क्लब लिड्स युनाइटेडमाथि ४–३ गोलको जित निकालेको हो ।

लिभरपुलको मैदानमा भएको खेलमा घरेलु टोलीलाई जिताउन मोहम्मद सालाहले ह्याट्रिक गरे भने भर्जिल भान डाइकले एक गोल गरे । यता, लिड्सका ज्याक ह्यारिसन, प्याट्रिक बामफोर्ड र माटेयुज क्लिचले समान एक–एक गोल गरे ।

लिभरपुलले खेलको चौथो मिनेटमा सुरुआती अग्रता बनाएको थियो । सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

१२औं मिनेटमा हयारिसनले गोल गर्दै लिड्सलाई बराबरीमा फर्काए । भान डाइकले २०औं मिनेटमा गोल गरेपछि लिभरपुलले पुनः अग्रता बनायो ।

फेरि ३०औं मिनेटमा बामफोर्डले गोल गर्दै लिड्सलाई २–२ गोलको बराबरीमा फर्काए ।

३३औं मिनेटमा सालाहले व्यक्तिगत दोस्रो गोल गरेपछि लिभरपुलले फेरि खेलमा अग्रता बनाएको थियो ।

६६औं मिनेटमा क्लिचले गोल गरेपछि लिड्स खेलमा फर्कियो । खेल सकिन दुई मिनेट बाँकी छँदा लिभरपुलले फेरि पेनाल्टीको मौका पाएको थियो । जसमा, सालाहले गोल गर्दै ह्याट्रिक पूरा गरे र लिभरपुललाई ४–३ गोलको जित दिलाए ।

यससँगै लिभरपुलले ३ अंक जोडेको छ ।