काठमाडौं, २७ भदौ । कोरोना संक्रमण मुक्त भएका कर्मचारीसँग स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अन्तरक्रिया गरेका छन् । मन्त्रालयमा कार्यरत कर्मचारीमध्ये कोरोना जितेर फर्किएकासँग अन्तरक्रिया गरेका हुन ।
कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेतृत्व गरिरहेका मन्त्रालयमा कार्यरत कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उनले यअघि सम्बन्धित कर्मचारीसँग फोनमा कुराकानी गरेका थिए ।
मन्त्रालयका उच्चअधिकारीलाई सँगै राखेर मन्त्री ढकालले कोरोना पोजेटिभ भएका कर्मचारीको अनुभव तथा भोगाइ सुनेका हुन ।
उनले समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने अवस्था आएको उल्लेख गर्दै कोरोना जितिसकेका कर्मचारीको वास्तविक अनुभव बाहिर आउनुपर्ने बताए ।
मन्त्री ढकालले कोरोना महामारीविरूद्धको लडाइँको अग्रमोर्चामा बसेर सामना गरिरहेका चिकित्सक, नर्स, स्वाथ्यकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, पत्रकारलगायत सबैको उच्च सम्मान गरे । रासस