Rumpum Advertisement

‘अर्को राजमार्ग’का काव्यिक दृश्यहरू

‘अर्को राजमार्ग’का काव्यिक दृश्यहरू

सुरेश हाचेकाली

भोजपुर जिल्लाको षडानन्द नगरपालिकामा जन्मिएकी तारा पराजुली कविता, गीत लेखन, शिक्षा क्षेत्र र राजनीतिमा एकैचोटी चलायमान छिन् । नेपाली साहित्यमा स्नातकोत्तर पराजुलीले मोरङ जिल्लालाई आफ्नो कर्मथलो बनाएर माथि उल्लेखित विषयक्षेत्रमा काम गरिरहेको पाइन्छ । कविता लेखनमा लामो समय बिताए पनि उनको हालसम्म एउटा मात्र सङ्ग्रह प्रकाशित भएको छ । लेखनमा निरन्तर साधना र प्रकाशनमा धैर्यताजस्तो लाग्ने कवि ताराको २०७४ मा प्रकाशित कवितासङ्ग्रह अर्को राजमार्गले विषयगत विविधता समेटे पनि यसभित्रका कविताहरू मूलतः सहर र गाउँबीचको विपर्यास, लैंगिक मुद्दा, राष्ट्रियता, पहाडी जीवनप्रतिको अतित अनुराग, आर्थिक मुद्दा र प्रेमजस्ता विषयवस्तुमा केन्द्रित छन् । यो लेखमा हामी माथि उल्लेखित विषयवस्तुलाई कवि ताराका कविताले कसरी परावर्तन गरेका छन् भनेर हेर्ने तरखरमा छौँ । यो लेखको उद्देश्य ‘अर्को राजमार्ग’ भित्रका कविताहरूको एक सामान्य सर्भेक्षण हो ।

समाजका मुद्दाहरू उठाउँदा ताराले माक्र्सवादी दृष्टिकोण अङ्गिकार गरेकी छिन् । विद्यालयस्तरमा पढ्दादेखि नै सांस्कृतिक फाँटबाट सामाजिक तथा राजनैतिक सक्रियता बढाएकी तारा सर्वहारा र अभावग्रस्त मान्छेहरूको दुःखलाई हेरेर कविताको तान बुन्छिन् । ‘सडक चोकमा’ शीर्षकको कवितामा ताराले सर्वहाराको दुःखद् जिन्दगीलाई समातेकी छिन् । सहरको कङ्क्रिट जङ्गलमा एउटा न्यून वेतनभोगी मजदुर छ, ऊ पेशाले रिक्साचालक हो । तँछाडमछाड पूँजीवादी बजारमा ऊ अभावले पिल्सिएको छ । सहरीकरणको यान्त्रिक महाअभियानमा उसको अस्तित्व रक्षाको सुनुवाइ सरकार, पूँजीवादी व्यवस्था र कर्पोरेट दुनियाँ कसैले गर्दैन । यही निरिह रिक्साचालकको सरोकारलाई ताराले लिपिबद्ध गरेकी छन् । उनी लेख्छिन्–

मालपोतको फाइलमा कतै नाम भेटिँदैन
अलिकति माटो र आफ्नै औँठा छापको पुर्जा
यिनै पुकार सुनिरहन्छ (२३)

नयाँ विम्बहरूको खोजीमा कवि तारा निकै नै आशक्त देखिन्छिन् । यथार्थमा यही आशक्तिले नै एउटा कविलाई आफ्नो मौलिकतातिर डोहोर्‍याइरहेको हुन्छ । फूलको गाछी नै भाँच्ने प्रकारको बिद्रोहले स्वीकृति हैन, अस्वीकृति प्राप्त गर्छ भन्ने प्रकारको आशय बोकेको ‘पुल’ शीर्षकको कवितामा ‘यता बगरको ढुङ्गामा दुःखिया पसिना आलै सुक्छ’ (२७) भन्ने हरफ निकै बाचाल लाग्दछ । बगरको ढुङ्गामा भएको सम्वेदनहीनताले पसिनामाथि न्यायसम्मान गर्दैन । सम्भवतः ताराले भनेको ‘बगरको ढुङ्गा’ गरीबमारा पूँजीवादी प्रणाली हो, जसको निम्ति नाफा र उपभोग मात्रै सरोकार रहन्छ । असुरक्षा, भोक र गरिबीले जन्माएको नाङ्गोपनको विषयमा ताराको कविता उद्वेलित छ । ‘प्रश्न’ शीर्षकको कवितामा उनको एउटा जब्बर प्रश्न यस्तो छ-

आमा ! हाम्रो घरमा
किन कहिल्यै गर्व र गौरव प्रवेश गर्दैनन् ? (१०)

‘म कमलरी’ शीर्षकको कवितामा ताराले अर्को एक सीमान्त पात्र कमलरीको प्रयोग गरेकी छिन् । पुख्र्यौलीरुपमा आएको कमलरी पेशाले उक्त पेशाकर्मीको जीवनलाई झन् दयनीय र विश्रृङ्खलित तुल्याएको छ । आफ्नै मालिकबाट असुरक्षित कमलरीको भाषालाई ताराले कसरी टिपेकी छिन् भन्ने कुराको एक उदाहरण हेरौं–

सेता लुगाका काला दाग घोटेर फाल्छु
आफूलाई झनै मैलो र दागी भेट्छु
मुखिया हुन्, दानापानीको साइनो छ
आजको दिन भोलिको उज्यालो तिनैसँग छ (५१)

दुःखको रापमा पिल्सिएका थुप्रै प्रकारका महिलाहरू ताराका कवितामा मुखरित भएर आउँछन् । कुनै पनि समाजको अर्थ व्यवस्था र राजनैतिक व्यवस्थाले नै त्यो समाजमा बस्ने जनताहरूको जीवन पद्दतिलाई निर्धारण गर्दछ । हामी पूँजीवादी क्रान्ति नै सम्पन्न हुन नसकेको अर्ध–सामन्ती र अर्ध–औपनिवेशिक राज्यका रैती भएर बाँचेका छौँ । राष्ट्रिय पूँजीको विकास हुन नसकेको र विदेशी चलखेलबाट प्रताडित राज्यका बासिन्दा भएका कारण हामी आर्थिक असुरक्षाको भयावह नियति बोकेर बाँचेका छौँ । यसै सन्दर्भमा ताराले दुःखका अनेकौँ जङ्घार तर्दै बृद्धावस्थामा पुगेकी महिलाको एउटा मार्मिक विम्ब ‘शासकसँग’ कवितामा यसरी खिचेकी छिन्–

यसबेला
जीवनको पल्लो किनारामा पुगेकी मेरी आमा
नालायक समयलाई सराप्दै छिन्
पहिरोमास्तिर बसेर (१०३)

पुत्रलाभको स्वर्णिम मुहूर्तमा पनि सन्तुष्टि र हर्षले विभोर हुन नसकिरहेको एक अभिसप्त बाबुको मनोदशालाई ताराले ‘छोरो जन्मेको दिन’ कवितामा ठम्याएकी छिन् । उनका कवितामा यस्तै दुःखी, पराजित र अभिसप्त पात्रहरूको उपस्थिति छ । उनी उनीहरूको जीवनबाट अभिसापको अन्तको कामनासहित कविता लेख्छिन् । त्यो अभिसप्त बाबु आफ्नो दयनीय जीवनकथा ताराको कवितामार्फत् यसरी कहन्छ–

छोरा ! आज तिमी जन्मेको दिन
मसँग रहर ओताउने एक पाखो छानो छैन
दुःख बिसाउने एक पाइलो घडेरी छैन
पसिना रोप्ने एक हात बारी छैन (११३)

अक्षरको मन्दिर बनाउन हजुरआमाले दिएको आशीर्वाद पछ्याएकी ताराले अस्थीर राजनीति र सङ्क्रमणकालीन समयमा ब्यहोर्नु परेको ज्यादतिलाई ‘हजुरआमा र फेरिएको साइनबोर्ड’ शीर्षकको कवितामा यसरी उल्लेख गरेकी छिन्–

आज म बाध्य भएर फेर्दैछु साइनबोर्ड
मैले बनाएको अक्षरको मन्दिर
भव्य र कुरुप चन्दाघर भएको छ (१५)

पितृसत्ता एउटा व्यवस्था हो । हामी यस व्यवस्थाअन्तर्गत छौँ । हाम्रो जीवनपद्दति यसैद्वारा निर्देशित छ । हाम्रो पारिवारिक संरचना, वैवाहिक जीवनको ताल पनि पितृसत्तात्मक व्यवस्थाकै नीतिद्वारा परिचालित भइरहेको पाइन्छ । जसअन्तर्गत विवाहपश्चात महिला पुरुषको घरमा जाने र आफ्नो पूर्वघरलाई माइतीमा परिणत गर्ने परिपाटी हुन्छ । विवाह भइरहेको क्षण व्यक्तिको जीवनको एक विशिष्ट सङ्क्रमण क्षण हो । त्यो क्षणमा एउटी महिला पुरानो भूगोलबाट नयाँ भूगोलमा, पुरानो वंश परम्पराबाट नयाँ वंश परम्परामा, पुरानो जीवनशैलीबाट नयाँ जीवनशैलीमा प्रवेश गर्दै गरेकी हुन्छिन् । अझ महत्वपूर्ण कुरो त विवाहकै विन्दुबाट व्यक्तिका स्वतन्त्रताहरूको काँटछाँट सुरु हुन्छ । पितृसत्तात्मक शासन व्यवस्थामा यो काँटछाँट महिलाको हकमा झन् तीव्र हुन्छ । यही विवाह नामको सङ्क्रमणकालीन क्षणमा पितृसत्तात्मक व्यवस्थाको अधीनस्थ रहेकी एक बेहुलीको अनुभूतिलाई ‘बेहुली घाम’ कवितामा ताराले जीवन्त भाषामा टिपेकी छिन् । यो उनको व्यक्तिगत अनुभूति हुन सक्छ तर त्यसको ‘एप्लिकेसन’ हाम्रो समाज र लैङ्गिक सम्वन्धसँग गाँसिएको छ । उनी लेख्छिन्–

अब म निर्देशित लवजमा हुनेछु
मलाई केही क्षण सहरीकरण गरेर
आफू भने निर्वासित भएको छ
भर्खरै एउटा बेहुली घाम (३३)

देशले पितृसत्ताको प्रबद्र्धन गर्छ र पितृसत्तात्मक विचारधाराले देश चलाएको छ भने देश र पितृसत्ता एकअर्काका समर्थक र सहयोगी भएका छन् । लैङ्गिक हिसाबले कमजोर पारिएका महिलाले देश र पितृसत्ता दुवैसँग लड्नुपरेको तर त्यो लडाइँले अपेक्षित उपलब्धि हासिल नगरेको अवस्था पनि छ । पितृसत्तात्मक जीवनदर्शनले दीक्षित समाजमा नारी दोश्रो दर्जाकी भोग्या मानिन्छिन् । ‘मृत्युको झीरमा यौवन’ शीर्षकको कवितामा देश र पुरुष दुवै नृशंसताको परिचायक बनेका छन् । उदाहरण यस्तो छ–

कसैले भनिरहेछ भीडबाट
देशै यस्तो, पुरुषजस्तो (७३)

पितृसत्ताले नारी स्वतन्त्रतामाथि मात्र कब्जा जमाएको छैन, यसले त नारी शरीर र अस्मितामाथि युगौँदेखि नङ्ग्रा गाडेको छ । लैंगिक समता र समानताका मुद्दाहरू जति नै जुर्मुराएर उठे पनि नारी शरीर नरपिशाचको आक्रमणबाट मुक्त छैन । कवि ताराकै भाषामा ‘यौवनका कपना टिप्न’ नारी तनमाथि बलात आक्रमण हुन छोडेको छैन । ‘बेखबर नीलिमा’ कवितामा तारा यसो भन्छिन्–

चिसापानी खोल्सा डिलमा
ढुङ्गाको सिरानी लाएर
बिसाइराखेकी छ
निम्ठो डोको सालिम्मो घाँस
त्यही छेउमा छ हँसिया र नुनिलो रुमाल
किनारमा ढुङ्गामा चिसै छन्
पानी रङका पैतालाका डाम
कहाँ गई होला नीलिमा सवै छोडेर ? (९०)

विद्यमान पितृसत्तात्मक समाज र विचारधाराले मातृसत्तालाई स्वीकार्दैन । आमाको घरलाई मावली र बाबुको घरलाई आफ्नो घर ठान्ने प्रचलनभित्र हुर्किएका हामी मावलीलाई व्यवहारिकभन्दा पनि हार्दिक हिसाबले बुझ्छौँ । आफ्नो अस्तित्वलाई मावलीको वंशसँग जोड्दैनौँ । यो हाम्रो सोच पितृसत्तात्मक विचारधाराको उपज हो । ‘मामाघर’ शीर्षकको कवितामा ताराले मातृसत्तासँग अलिकति भए पनि तादात्म्य राख्ने मामाघरको चित्रण मार्मिक भाषामा गरेकी छिन् । उनी आफ्नो मामाघरलाई आमाको प्रारम्भ बिन्दु मान्दै यसो भन्छिन्–

आमाले पहिलो पटक श्वास फेरेको हावा
अझै यिनै पोथ्राहरूमा अल्झिरहेको होला
यही खसेको हो आमाको आँखाबाट पहिलो थोपा आँसु
यही माटामा फुलेको हो ओठको पहिलो खुसी (१०९)

प्राकृतिक स्रोत र साधनहरूले भरिपूर्ण देशका नागरिक भएर पनि हामी जलविनियोजनबाट मर्नुपर्ने नियतिमा छौँ । गाउँहरू दुःखी र एक्ला छन् । परित्यक्त भूगोल भएर बाँच्नु गाउँहरूको नियति भएको छ । बसाइँसराइँको तीव्र प्रक्रियाले गाउँहरू उराठलाग्दा भएका छन् । यो विषयलाई ताराका थुप्रै कविताहरूले मार्मिक ढङ्गमा उठान गरेका छन् । कवि तारा पराजुलीको जीवनयात्रा पहाडबाटै सुरु भए पनि त्यसको तीक्ष्ण स्मृति बोकेर उनी तराइमधेसमा जीवन र जीजिबिषा हाँकिरहेकी छिन् । उनको पहाडप्रतिको लगाव निरन्तर रुपमा प्रस्फुटित देखिन्छ । बाल्यकालीन पूर्वस्मृतिमा फस्नु प्रत्येक व्यक्ति विशेष रुपमा श्रष्टासर्जकको आम चरित्र हो । ताराले मानवबस्ती रित्तिँदै गएको पहाडी गाउँको सशक्त छायाछवि टिपेकी छिन् ।

‘पहाडको निम्तो’ कवितामा ‘बेँसीखेतको रोगी याक्सा’ (५५) को विम्ब समातेर ताराले बिरामी आमा, ऐँजेरुले ढाकेका रुख, झार उम्रिएको छानो जस्ता दृष्यगत विम्बको सहारामा पहाडको लयभंग अस्तित्वलाई उतारेको पाइन्छ । एक उदाहरण हेरौँ–

हिजोआज आमा बिरामी छन्
ओछ्यान मैलो छ
जुठेल्नाका डिलको नासपाती र सुन्तला
ऐँजेरुले खलक्क निलेको छ
अधिनायक हुर्किएर सिरुको छानो
वनमाराले छोपेको छ
पापी गँगटाले मूल कोल्ट्याएपछि
मूर्ति झिकिएको मन्दिरजस्तै भएको छ ढुङ्गेधारो (५५)

‘पहाड र आमा’ कवितामा पनि ताराले पहाडमा दुःखहरूमा एकाकार भएर जीवन बिताइरहेका महिलाहरूको चित्र प्रतिनिधिमूलक पात्र ‘आमा’मार्फत् प्रकाशमा ल्याएकी छिन् । यातायात, सञ्चार, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत मानवीय आवश्यकताहरूको सहज उपलब्धता नभएको पहाडी गाउँमा डेढ/दुई दशकअगाडिको समय झन् विकराल थियो । त्यही दुःखी पहाडमा आमाहरूको जीवनको चर्खा चलिरहेको विम्बलाई ताराले यो कवितामा समातेकी छिन् । आमाको पूर्वस्मृतिलाई आफ्नो स्मृतिमा ढालेर ताराले यसो भनेकी छिन्–

अनिदो अखबार आइपुग्दैन यहाँ
घरछेउको पसलमा राखिएको
बेग्लाबेग्लै मोलको नुन, चामल, तेल, बास्नादर साबुन
केही आइपुग्दैन यहाँ
आउने भनेको महँगी बोक्ने उही कुहिरो हो
पहाडमा
आमा यसै भन्नुहुन्थ्यो (१२६)

सहर र गाउँबीचको विपर्यास देखाउने ‘भोजपुर’ शीर्षकको कवितामा ताराले बालागुरु षडानन्द, योगमाया हुँदै राजन मुकारुङसम्मका प्रतिभाहरूको चर्चा गर्नुका साथै सुविधासम्पन्न सहर र बाँसको जोखिमपूर्ण फड्केबाट खोलो तर्नुपर्ने गाउँको भिन्नता समातेकी छिन् ।

राष्ट्रियता ताराका कविताको अर्को बलियो प्रक्षेप हो । ‘टिष्टासँग एक दिन–२’ लगायतका कवितामा यो प्रक्षेप प्रकट भएको पाइन्छ । टिष्टा नदी कुनै समय नेपालमा पथ्र्यो । यो नेपाली बहादुरीको आर्जन थियो तर त्यो बेला आज छैन । ताराकै शव्दमा ‘सगरमाथाकी कन्या’ भनेर चिनिने टिष्टा आज ‘दोश्रो घर’ (भारत) मा भित्रिएकी छिन् । यो कवितामा ताराले नदी, नारी र राष्ट्रियतालाई एकैचोटी समातेकी छिन् । नदी र नारीमा सृष्टिलाई निरन्तरता दिने विषयमा प्रशस्त समानता भेटिन्छन् । ‘टिष्टासँग एक दिन–१’ कवितामा टिष्टा नदीले ओरालो बग्नुलाई जीवन ठान्छ तर मान्छेहरू सधैँ उकालो ताक्छन् । यही विरोधाभाषलाई ताराले टिपेकी छिन् । एक दार्शनिक अभिव्यक्ति हेरौँ–

मलाई गर्व छ ओरालोसँग
त्यसैले ओरालै–ओरालो बग्छु
त्यही ओरालो झरेर
तिम्रा हजार पुस्ताको अन्त्य लेखेको छु मैले
तर म अझै जीवित छु (११५)
माटो पञ्चतत्व मध्येको एक तत्व हो । माटो उर्वरताको प्रतीक हो । माटो राष्ट्रियताको प्रतीक पनि हो । ‘गिट्टीमा सपनाहरू कुटेर’ कवितामा यस्ता हरफहरू छन्–

तर नथुक्नु माटोलाई
झुक्किएर पनि
नसराप्नु माटोलाई
बिर्सेर पनि
साह्रै ठूलो गुन लगाएको छ माटाले त
टेक्ने छाती दिएर
सहने मन दिएर (१५)

शास्त्रीय अर्थमा प्रेम प्राप्तिमा हैन, अप्राप्तिमा झन् अमर हुन्छ । यो व्यक्तिको निजी मनोदुनियाको अनुभूति हो । ताराका थुप्रै कविताले प्रेमिल अभिव्यक्तिको घुमाउरो नालीबेली बोकेका छन् । समर्पणको भाव बोकेका ती कविताहरूभित्र प्रेमको एक उच्च आदर्श स्थापित छ । ‘अँजुलीभरिका पूmलहरू’ एक उत्कृष्ट प्रेम कविता हो । यसैगरी ‘प्रेमोपहार’, ‘अस्वीकृत उपहार’, ‘हटिया र स्मृति’, ‘धरहरा र मेरो प्रेम’ जस्ता कविताले प्रेमको आदर्श व्याकरणलाई समातेका छन् । आफ्ना निजी अनुभूतिलाई सार्वजनिक अनुभूतिसँग जोड्न सक्नुमा नै कविताको सामथ्र्य निहित हुन्छ । ताराले यो सामथ्र्य बोकेकी छिन् ।

यसरी राजधानी काठमाडौंको विषाक्त र अश्लिल प्रतिस्पर्धात्मक वातावरणभन्दा पर बसेर आफ्नै लय, गति र शैलीमा ताराले कविता लेखिरहेकी छिन् । ती कवितामा उनले जीवनका विरोधाभाषहरूलाई छिचोल्दै आदर्श र जीजिविषाको लय निर्माण गरेकी छिन् । उनका आगामी कतिाहरूले यो सङ्ग्रहमा भएका कतिपय अपूर्णताहरूलाई सच्याएर सफलताको अर्को देउराली छुनेछन् भनेर अपेक्षा गर्नु भूल हुनेछैन किनकि, उनको सिर्जनाले एउटा उचाइ हासिल गरिसकेको छ । विम्बनिर्माणमा मौलिकताको परख गरी विषयवस्तुको सटिक चयन, उन्नत चेतना र अभिव्यक्तिमा सम्प्रेष्यताजस्ता विशेषताका कारण कवि तारा पराजुली नेपाली कविताको आगामी इतिहासका लागि एउटा बलियो सम्भावना हुन् ।