सडक बालक

तिलक थापा

सहनु छ दुनियाँको घृणा र तिरस्कार
न थाहा छ आमा बाबु न छ आफ्नो कोही
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

खै कसले फ्याँक्यो हामीलाई सडकमा
बस्नुपर्‍यो खुम्च्याएर मनका सबै रहर
फोहोर, हिलो, धुलोसँग लुकामारी खेल्दाखेल्दै
भयो जीवन अन्धकार
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

हामीजस्तै सानासाना बालक
आफन्तका हात समातेर हिँडेको देख्दा
हामीलाई गिज्याउँदै सुकिलो र रङ्गीचङ्गी लाएको देख्दा
पिरोल्न थाल्छ हामीलाई पनि आफन्तको यादले
अनि धड्किन्छ मुटु ढुकढुक
तर, भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

न त हुन्छ नाम, थर
न त हुन्छ बस्ने घर
आकाशको छानो धर्ती भयो ओछ्यान
हामी पनि मानव हौं
मानिसको सहारामा
कसैको घरको पेटीमा बस्न मन लाग्छ
तर घर मालिकले देख्छन् अनि भन्छन्
हट् पर जा …, कहाँबाट आएछ यो ?
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

हामीलाइ नि मन लाग्छ पढ्न अनि लेख्न
हामीलाइ नि मन हुन्छ साथीसँग खेल्न
तर कसैले जान्दैन हामीसँग राम्रो शब्द बोल्न
पशुलाई जस्तै हामीलाई छ पीडा
सबले गर्छन् छिःछिः दुर्दुर सबले गर्छन् घृणा
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

हे ईश्वर !
हामीलाई पनि सरकारले नजर लाए हुन्थ्यो
अरू जस्तै हामी पनि सम्मानपूर्वक बाँच्न पाए हुन्थ्यो
यदि त्यस्तो भयो भने,
अरूजस्तै हामी पनि हुन्थ्यौं सफा सुन्दर
अरूकोझैं हाम्रो पनि हुन्थ्यो राम्रो संसार
तर,
भन्छन् सबैले चस्स बिझ्ने गरी
खाते …, सडक बालक … !

Loading...