गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योग कारबाहीमा

काठमाडौ, २७ भदौ । औषधि व्यवस्था विभागले मापदण्डविपरीत सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योगलाई कारवाही गरेको छ ।

मानव स्वास्थ्यमा गम्भीर असर पार्ने विषाक्त मिथानोल केमिकल प्रयोग गरेर सेनिटाइजर उत्पादन गरेपछि काठमाडौंका चार र भक्तपुरका एक गरी कूल पाँच उद्योगलाई क्षतिपूर्तिसहितको जरिवाना र बन्द गर्ने तयारी गरिएको विभागले जनाएको हो ।

काठमाडौँको हाइजिङ सोप एन्ड केमिकलले उत्पादन गर्ने ‘इन्सेटेन्ट ह्यान्ड सेनिटाइजर ओरिजिनल’, आधार केमिकल एन्ड फुड इन्डस्ट्रीले उत्पादन गर्ने ‘एड्भान्स ह्यान्ड सेनिटाइजर’, सर्च केम कम हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड सेनिटाइजर रिफ्रेरिसङ जेल’ र सूर्यमुखी हर्बल प्रोडक्टले उत्पादन गर्ने ‘सूर्यमुखी ह्यान्ड सेनिटाइजर’ तथा भक्तपुरका नेपाल कायाकल्प उद्योगले उत्पादन गर्ने ‘इन्सटेन्ट ह्यान्ड सेनिटाइजर’ मा विषाक्त मिथानोल रहेको पाइएको विभागका महानिर्देशक नारायणप्रसाद ढकालले बताए ।

विभागले बजारमा बिक्री वितरणमा रहेको विभिन्न उद्योगका ह्यान्ड सेनिटाइजरहरुको नमूना संकलन गरी औषधि व्यवस्था विभागको प्रयोगशालमा गरिएको परीक्षणमा ती उद्योगले मापदण्डविपरीत मानव स्वास्थ्यमा गम्भीर असर पार्ने केमिकल प्रयोग गरेर सेनिटाइजर उत्पादन गरेको पाइएको हो । मापदण्डविपरीत उत्पादन गरिएका ती सेनिटाइजरहरु प्रयोग नगर्न विभागले सर्वसधारणलाई सूचनामार्फत् आग्रह पनि गरेको छ ।

Loading...