चार मुक्तक

मोहन ढकाल

पानीको थोपा हुँ म तिम्रै सामु खसिदिन्छु
जहाँ जाऊ जसो गर तिम्रै सामु बसिदिन्छु
ढुंगा बन, माटो बन, बगरको वालुवा बन
पत्थरको हृदयमा तिम्रैसामु पसिदिन्छु ।

***

चाह्यो भने के हुन्न कोसिस गर अन्तिमसम्म
दुःखसुख जिन्दगीमा खुसी भर अन्तिमसम्म
घाम पनि छेकिदिने बादलको शक्ति हेर
खुट्टा तान्ने तान्दै गर्छन् लागि पर अन्तिमसम्म ।

***

बाटाहरू कठिन हुन्छन् पाइला रोक्नु हुन्न
दुःखसुख जिन्दगी हो पीर बोक्नु हुन्न
संघर्षको गोरेटोमा कहिलेकाहीँ ठेस लाग्दा
समयलाई दोस दिई आँशु पोख्नु हुन्न ।

***

सधैं हिँड्ने बाटोमा आज काँडा उम्रिएछ
फूलै फूलको साटोमा आज काँडा उम्रिएछ
धान फल्थ्यो, गहुँ फल्थ्यो, मकै पनि फल्थ्यो
बेँसी खेतको माटोमा आज काँडा उम्रिएछ ।

Loading...