एन्टीस्नेक भेनमको परीक्षण छ महिनाभित्रमा गरिने

विराटनगर, २७ भदौ । नेपालमा पहिलो पटक एन्टीस्नेक भेनम सेरम उत्पादनको तयारी सुरु गरेको सुनसरीको बराहक्षेत्रस्थित एन्टीस्नेक भेनम सिरम रिसर्च एन्ड म्यानुफेक्चारिङ प्रालिले एन्टीस्नेक भेनमको परीक्षण छ महिनाभित्रमा गर्ने जनाएको छ ।

एन्टीस्नेक भेनम सिरम रिसर्च एन्ड म्यानुफेक्चारिङ प्रालिका अध्यक्ष लक्ष्मीप्रसाद फुँयालले यसका लागि कम्पनी तयारीमा जुटेको र कुनै अवरोध नआएको खन्डमा अबको छ महिनाभित्रमा परीक्षण गर्ने जानकारी दिए ।

हाल भेनम उत्पादन उद्योग सञ्चालनका लागि संरचना निर्माणको काम धमाधम भइरहेको छ । उद्योगको भवन शिलान्यास प्रदेश १ का मुख्यमन्त्री शेराधन राईले २०७४ साल चैत्र ३० गते गरेका थिए । ८८ करोड ६३ लाख अनुमान गरिएको उद्योग सञ्चालनका लागि प्रदेश १ सरकारबाट सहयोगको आश्वासन पाएको अध्यक्ष फुँयालले बताए ।

युवावर्गको पहलमा सञ्चालन गर्न लागिएको यस प्रकारको योजनालाई राज्यले चासो दिनु पर्ने धारणा पनि उनी बताउँछन् । नेपालमा पहिलोपटक सर्पको विषविरुद्धको औषधि उत्पादन गरी विदेश निर्यात गर्ने लक्ष्य उद्योगको रहेको छ ।

हाल नेपालमा सर्पको विषविरुद्धको औषधि भारतबाट आयात हुन्छ । एन्टी स्नेक भेनमको माग विश्वभर छ । यस उद्योग सञ्चालनपश्चात उद्योगले वार्षिक एक अर्ब ५० करोड रुपैयाँ बराबर १५ लाख भाइल औषधि उत्पादन गर्ने फुँयालले बताए ।

उद्योग सञ्चालनमा आएपछि ४०० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन् । विश्व बजारमा माग उच्च रहेको उद्योग र अनुसन्धान केन्द्र नेपालमा सञ्चालन हुनु देशका लागि गौरवको विषय भएको फुँयालले बताउँदै आएका छन् ।

Loading...