
सागर तिमिल्सिना
स्वतन्त्रताको ब्याडमा
बीउ राखियो– विकृति/विसंगति
र, उम्रियो– विद्रुप राजनीति !
फैलियो खेतमा– अराजकता
लुटपाट
र, उम्रिदै तीनपाथी !
गोडमेल राम्रै गरियो
उखिलियो– इमान्दारिता
र, नैतिकता
झाङ्गियो– भ्रष्टाचार र अनैतिकता !
परम्परागत विधि मासियो
मूल्य, मान्यता, प्रक्रिया
विधान, सिद्धान्त
र, पद्दति !
बाली खाँदैछ अहंकारी किरा
छर्किएर कलहको विष
साम्य पार्नुपर्छ रिस !
फसल बढ्दैछ
बाला–बालामा झुण्डिएर
पदलोलुपता, नातावाद, स्वच्छाचारिता
र, अवसरवाद
सायद, पुगेन जस्तो छ मलखाद ?
वर्षौको मेहनत अनि त्याग
सधै भकारी खाली
तयार हुँदैछ अब उन्नत बाली
यो साल यसै छाड्नुपर्ला ।
फैलिएको छ महामारी
अर्को साल टम्म हुने गरी भकारी !