Rumpum

Rumpum Advertisement

विराटनगरका वडाअध्यक्ष आचार्यलाई कोरोना संक्रमण

विराटनगरका वडाअध्यक्ष आचार्यलाई कोरोना संक्रमण

विराटनगर, २७ भदौ । विराटनगर महानगरपालिका–५ का वडा अध्यक्ष मीनकुमार आचार्यलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शारीरिक रुपमा अपांगता भएका उनी कोरोना संक्रमित हुने विराटनगरका दोस्रा जनप्रतिनिधि हुन् । उनीसहित परिवारका तीन जनालाई शुक्रबारसाँझ कोरोना देखिएको हो । संक्रमित हुने परिवारका सदस्यमा आचार्यका १४ र ९ वर्षका छोरा छन् । आचार्यले आफूलाई कोरोना संक्रमण देखिएको कुरा सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् ।

उनले आफूसँग सम्पर्कमा रहेकाहरुलाई तत्काल पीसीआर परीक्षण गराउन पनि आग्रह गरेका छन् । छोरालाई ज्वरो आएपछि बुधबार स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि दिएकोमा परिवारका तीन जनामा कोरोना देखिएको जानकारी उनले दिए । श्रीमतीको भने रिपोर्ट केही दिनअघि नेगेटिभ आएको छ ।

संक्रमित तीनै जनाको अवस्था सामान्य रहेकाले होम आइसोलेसनमै बसिरहेको सत्तारुढ नेकपाको विराटनगर–५ का अध्यक्ष सुनिल श्रेष्ठले जानकारी दिए । उनका अनुसार तत्कालिन एमाले र हालको नेकपाबाट विजयी बनेका वडा अध्यक्ष आचार्य केही समयदेखि कोरोना संक्रमण नियन्त्रणका लागि समुदायस्तरमै सक्रिय भएर खटिएका थिए ।

आचार्य वडा अध्यक्ष रहेको विराटनगर–५ मा शुक्रबारसम्म ५६ पुरुष र ३५ महिलासहित ९१ जना संक्रमित पुष्टि भइसकेको जानकारी श्रेष्ठले दिए ।

यसअघि विराटनगर –२ का वडाध्यक्ष कुमार पोखरेललाई पनि कोरोनाको संक्रमण देखिएको थियो । विराटनगरमा एक हजार तीन सय १८ जनालाई हालसम्म संक्रमण पुष्टि भइसकेको महानगरपालिकाले जनाएको छ ।