विराटनगर, २७ भदौ । अमेरिकाको पहलमा दुई देशबीचको सम्बन्ध सामान्य बनाउन इजरायल र खाडी देश बहराइनबीच ‘शान्ति सम्झौता’ भएको छ ।
दुवै देशले एकअर्कामा सम्बन्ध समान्य बनाएर लैजाने र तिक्ततापूर्ण विगतलाई भुलेर जानेभन्दै सम्झौता गरेका हुन् । अमेरिकाको पहलमा दुई देशबीच ‘शान्ति सम्झौता’ भएको जानकारी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रम्पले ट्वीटमार्फत दिएका छन् ।
उनले ३० दिनभित्र इजरायलसँग शान्ति सम्झौता गर्ने बहराइन दोस्रो देश भएको उल्लेख गरेका छन् । एक महिनाअघि अमेरिकाकै पहलमा इजरायल र संयुक्त अरब इमिरेट्स (युएई)बीच शान्ति सम्झौता भएको थियो । यसको औपचारिक हस्ताक्षर आउँदो मंगलबार वाशिङ्गटन डिसीमा हुँदै छ ।
प्यालेस्टिनी विवाद समाधान गर्न नसकेको भनेर दशकौंदेखि धेरैजसो अरब देशहरुले इजरायललाई बहिस्कार गर्दै आएका छन् । उनीहरुले अहिले तत्कालै इजरायलसँग सम्बन्ध बनाइहाल्न सक्ने अवस्था नभएको उल्लेख गरेका छन् ।
इजरायल–प्यालेस्टिनी संघर्ष समाधान गर्ने उद्देश्यले ट्रम्पले जनवरीमा मध्यपूर्व शान्ति योजना सार्वजनिक गरेका थिए । सोही योजनाअनुसार इजरायल–युएई र इजरायल–बहराइनबीच सम्झौता गराउन सफल भएको ट्रम्पको दाबी छ ।
इजरायलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले सम्झौता ऐतिहासिक भएको प्रतिक्रिया दिँदै यस सम्झौतालाई शान्तिको युग भनेका छन् । धेरै वर्षदेखिको प्रयासले अहिले सार्थकता पाएको उनको प्रतिक्रिया छ ।
युएईको विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै इजरायल–बहराइन शान्ति सम्झौताको स्वागत गरेको छ । युएईले स्थिरता र समृद्धिमा धेरै ठूलो योगदान दिने भनेर सम्झौतालाई महत्वपूर्ण एवं ऐतिहासिक उपलब्धि भनेको छ ।