Rumpum Advertisement

अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता हुँदै

अफगानिस्तान र तालिबानबीच शान्ति वार्ता हुँदै

विराटनगर, २७ भदौ । अफगानिस्तान सरकार र विद्रोही तालिबानबीच पहिलो पटक प्रत्यक्ष शान्ति वार्ता हुने भएको छ ।

वार्ताले अफगानिस्तानमा चार दशकदेखि चलिरहेको युद्धको अन्त्य हुने अपेक्षा गरिएको छ । शनिबार कतारमा हुने वार्ताले केही सकारात्मक सन्देश दिने अपेक्षा गरिएको छ । यसअघि हुने भनिएका वार्ता तालिबानले अफगान सरकारका प्रतिनिधिसँग भेट्न अस्वीकार गरेपछि स्थगित हुँदै आएका थिए ।

वार्ताको उद्घाटनका लागि दोहा उड्ने क्रममा अमेरिकी विदेश मन्त्री माइक पोम्पोओले यसलाई ऐतिहासिक घटना भनेका छन् । गएको फेब्रुअरीमा अमेरिका र तालिबानबिच सुरक्षा सम्झौता भएपछि वार्ताको वातावरण बनेको हो। बन्दी रिहा गर्ने सहमति विवादास्पद बनिरहेका बेला वार्ता सफल भएमा अफगानिस्तानमा विगत चार दशकदेखि जारी हिंसा र युद्ध अन्त्य हुनेछ ।

अफगानिस्तानको वार्ता टोलीका प्रमुखहरु शुक्रबार नै दोहा पुगेका छन् । बिहीबार तालिबानले आफू वार्तामा सहभागी हुने पुष्टि गरेको थियो । ६ कैदी रिहा भएपछि तालिबानले वार्ताका लागि सहमति जनाएको बताइएको छ ।

दुवै पक्ष राजनीतिक सहमति गरी हिंसा अन्त्यका लागि प्रयासरत रहे पनि तालिबानले अफगान सरकार शक्तिहीन र अमेरिकाको कठपुतली रहेको आरोप लगाउँदै आएको छ ।