नेकपा महाधिवेशन चैत अन्तिमसाता, एमसीसी संशोधनसहित अनुमाेदन गरिने

विराटनगर, २६ भदौ । आन्तरिक किचलोमा फसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको एकता महाधिवेशन चैतमा गरिनेभएको छ । शुक्रबार बसेको स्थायी कमिटि बैठकले चैत अन्तिम साता पार्टीको एकता महाधिवेशन गर्ने निर्णय गरेको हो ।

बैठकले २५–३० चैतमा महाधिवेशन गर्ने निर्णय पारित गरेको हो । यसअघि पार्टीको केन्द्रीय कमिटीले पनि यसबारे सोही मितिमा गर्ने निर्णय गरेको थियो ।

महाधिवेशनको तयारीका लागि आगामी कात्तिक १५ देखि १७ गतेसम्म केन्द्रीय कमिटीको बैठक तय गरिएको छ ।

एमसिसी परिमार्जनसहित पारित हुने

स्थायी कमिटि बैठकले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कम्प्याक्ट (एमसीसी) लाई आवश्यकतानुसार संशोधन र परिमार्जन गरी अनुमोदन गर्ने निर्णय गरेको छ ।

सम्झौता नेकपाको विवादका कारण प्रतिनिधिसभामा गत वर्षदेखि विचाराधीन छ । परिमार्जनका विषयबारे पार्टीले आगामी दिनमा थप स्पष्ट गर्नेछ ।

नेकपाको गत माघ १५ देखि १९ गतेसम्म भएको बैठकले एमसीसी अध्ययन गर्न वरिष्ठ नेता खनाल, स्थायी कमिटी सदस्य रावल र परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली रहेको अध्ययन कार्यदल गठन गरेको थियो ।

गत फागुन ९ गते नेकपा अध्यक्षद्वय ओली र दाहाललाई प्रतिवेदन दिइसकेको छ ।

कूल करीब ६४ अर्बको सो परियोजनामा सम्झौताबारे वरिष्ठ नेता खनालको संयोजकत्वमा कार्यदल गठन गरी प्रतिवेदन पेश भइसकेको छ ।

सो सम्झौतामा काठमाडौंँको लप्सीफेदीदेखि नुवाकोटको रातमाटेसम्म, रातमाटेदेखि हेटौंँडासम्म, रातमाटेदेखि दमौलीसम्म, दमौलीदेखि बुटवलसम्म र बुटवलदेखि भारतको सिमानासम्मको खण्डमा चार सय केभी क्षमताको प्रसारण लाइन निर्माण तथा रातमाटे, दमौली र बुटवलमा तीन सबस्टेशन निर्माण गरिने उल्लेख छ ।

सीमा समस्या समाधान र कोभिड नियन्त्रण

शुक्रबार सकिएको बैठकले नेपाल भारत सीमा समस्या समाधानका लागि नेपाल सरकारले गरेका प्रयासलाई सकारात्मक ठहर गरी भारतले अतिक्रमण गरेको भूमिमा नेपालको भोगचलन र भारतीय सेना फिर्ताका लागि कूटनीतिक वार्ताका माध्यमबाट आवश्यक पहल गर्न सुझाव दिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

Loading...