नेकपा पार्टी विवाद मिल्याे : पार्टीमा प्रचण्डलाई कार्यकारी अधिकार

काठमाडौं, २६ भदौ । फूटको संघारमा पुगेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद टरेको छ ।

स्थायी कमिटीको बैठकमा छताछुल्ल भएको आन्तरिक विवाद अन्ततः सोही कमिटीको बैठकबाट अन्त्य भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको सहमतिका आधारमा गठित समस्या समाधान समितिको प्रतिवेदन परिमार्जनसहित प्रस्तुत र पारित भएपछि विवाद टुङ्गिएको हो ।

आजको निर्णयसँगै एकताका बाँकी काम पूरा गर्ने कार्यले तीव्रता पाउने छ । पार्टी विभाजनमा पुग्न सक्ने र सरकारको स्थायित्वमा सङ्कट आउन सक्ने अन्योल समाप्त भई अब नयाँ उत्साह पैदा भएको छ ।

१० असारमा सुरु बैठक पटक पटक बस्दै र स्थगन हुँदै आएको थियो । बैठकले प्रचण्डलाई कार्यकारी अधिकार दिने निर्णय गरेको छ ।

स्थायी कमिटीको बैठकमा सरकार र पार्टी कामबारे नेताहरुबीचको आपसी अविश्वास र अन्तरकलहका कारण नियमित कार्यसूचीमा छलफल हुन नसकेपछि अध्यक्षद्वयले महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वमा समस्या समाधान कार्यदल गठन गरेको थियो ।

बैठकमा नेता माधवकुमार नेपालले विधि र पद्धतिका लागि आफूले उठाउँदै आएको ‘एक व्यक्ति ः एक पद’ को प्रस्ताव कार्यदलको प्रतिवेदनमा नपरेको जनाउँदै असहमति जनाएका थिए ।

अध्यक्षद्वयको स्पष्ट कार्यविभाजन

बैठकले अध्यक्ष एवं प्रधानमन्त्री ओली सरकारको काममा केन्द्रित हुने र अध्यक्ष दाहाल पार्टीको काममा केन्द्रित भई कार्यकारी अध्यक्षको भूमिकामा रहने कार्यविभाजनको प्रस्ताव पारित गरेको छ । यसबारे गत मंसिर ४ गतेको स्थायी कमिटीको बैठकमा गरिएको निर्णय कार्यान्वयनमा देखिएको अन्योललाई थप चिर्दै आजको बैठकले सहमतिका साथ स्पष्टता निर्माण गरेको हो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार आजको बैठकले सरकारका कामकारबाहीमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत महत्वका विषयमा सरकारले पार्टीको समन्वय र मार्गदर्शनलाई केन्द्रमा राखेर काम गर्ने निर्णय गरेको छ । रासस

Loading...