कोरोनाका कारण विराटनगरमा थप एक वृद्धाको मृत्यु

विराटनगर, २६ भदाै । कोरोना भाइरस संक्रमणका कारण विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शुक्रबार साँझ थप एक वृद्धा महिलाको मृत्यु भएको छ ।

उपचार केन्द्रका प्रमुख एवं अस्पतालका वरिष्ठ फिजिसियन डा. दीपक सिग्देलका अनुसार मोरङको ग्रामथान गाउँपालिका–२ की ७० वर्षीया वृद्धाको उपचारका क्रममा साँझ ५ः२० बजेतिर मृत्यु भएको हो ।

वृद्धालाई बिहीबार संक्रमण पुष्टि भएर स्वास्थ्यमा समस्या थपिएपछि राति नै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो । ‘चिन्ताजनक अवस्थामा वृद्धालाई अस्पताल ल्याइपुर्‍याइएको थियो,’ डा. सिग्देलले भने, ‘तत्काल आईसीयूमा राखेर उपचार सुरु गरिए पनि बचाउन सकिएन ।’

वृद्धमा ज्वरो आउने र श्वास फेर्न गाह्रो हुनेलगायतका धेरै समस्या देखिएको जानकारी उनले दिए । मृतकको शव व्यवस्थापनको प्रक्रिया अघि बढाइसकिएको जानकारी उनले दिए ।

वृद्धाको मृत्युसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १७ पुगेको छ ।

Loading...