Rumpum

Rumpum Advertisement

मेस्सी भर्सेस रोनाल्डो : को बन्लान् त फुटबल इतिहासको शीर्ष गोलकर्ता ?

मेस्सी भर्सेस रोनाल्डो : को बन्लान् त फुटबल इतिहासको शीर्ष गोलकर्ता ?

एजेन्सी, २६ भदौ । विश्वमा लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोको बारेमा नसुन्ने मानिस कमै होलान् । मैदान र खेल जगतबाहेक पनि उनीहरूको चर्चा उत्तिकै हुने गरेको छ । विश्व खेल जगत विशेषतः फुटबलले यी दुई जस्ता प्रतिस्पर्धी भविष्यमा कमै पाउला । स्टार फरवार्डद्वय मेस्सी र रोनाल्डोले विगत दुई दशकयता रेकर्डको वर्षा गराइरहेका छन् र यो वर्षाले अझै केही वर्ष निरन्तरता पाउने निश्चित छ ।

दुई स्पेनिस क्लब बार्सिलोना र रियल मड्रिडको प्रतिनिधित्व गर्दा यी दुई खेलाडी एउटै लिगमा नौ वर्षसम्म लगातार हेड–टु–हेड प्रतिस्पर्धामा थिए । क्लब करिअरमा ७३९ गोल गरिसकेका रोनाल्डो मेस्सीभन्दा ३५ गोलले अघि छन् ।

२००४–०५ को सिजनबाट बार्सिलोनाबाट व्यवसायिक क्लब फुटबल खेल्न सुरु गरेका मेस्सीले १९–२० को सिजनको अन्त्यसम्म ७०४ गोल गरेका छन् ।

क्लब फुटबलमा कसको गोल कति ?

२००२–०३ को सिजन पोर्जुगिज क्लब स्पोर्टिङ सीपीबाट क्लब करिअर सुरु गरेका रोनाल्डोले मेस्सीभन्दा दुई सिजन बढी खेलेका छन् । दुई सिजन बढी खेल्नुबाहेक रोनाल्डोले चार भिन्न क्लबबाट व्यवसायिक लिग पनि खेलेका छन् ।

२००२–०३ को सिजन पहिलो पटक स्पोर्टिङ सीपीको सिनिअर टिमबाट खेलेको रोनाल्डो एक सिजनपछि नै इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड आएका थिए । पाँच गोलसहित तीन असिस्ट गरेका रोनाल्डोले स्पोर्टिङ सीपीबाट ३१ खेल मात्र खेलेका थिए ।

पोर्चुगिज लिगबाट इंग्लिस प्रिमियर लिग आएका रोनाल्डोले युनाइटेडबाट ६ सिजन खेल्दा २९२ खेल खेल्दै ११८ गोल गरेका थिए ।

०९–१० को सिजनमा स्पेनिस क्लब रियल मड्रिड भित्रिएका रोनाल्डोले नौ वर्षमा ४३८ खेल खेलेका थिए । मड्रिडमा रहँदा ४५० गोल गर्न भ्याएका रोनाल्डोले १३३ असिस्टसमेत गरेका थिए । नौ वर्ष लामो मड्रिड बसाई टुग्याउँदै १८–१९ को सिजन इटालियन लिग सिरी ‘ए’ आएका रोनाल्डोले हालसम्म युभेन्टसबाट ८९ खेल खेलिसकेका छन् ।

पहिलो सिजन उत्कृष्ट फर्ममा देखिन नसकेका रोनाल्डो दोस्रो सिजनको अन्त्यतिर भने लयमा फर्किएका थिए । युभेन्टसबाट खेलेका ८९ खेलमा रोनाल्डोले ६५ गोल र १८ असिस्ट गर्न भ्याएका छन् ।

रोनाल्डोको क्लब करिअरभरिको सबै गोल जोड्ने हो भने ६३८ हुन आउछ, जुन उनको प्रतिद्वन्द्वी मेस्सीको भन्दा चार गोलले धेरै हो । त्यसो त रोनाल्डोभन्दा दुई वर्षले कान्छा मेस्सीले रोनाल्डोले भन्दा दुई सिजन कम खेलेका पनि छन् । मेस्सीले आफ्नो उत्कृष्ट लय निरन्तर कायम राख्न सक्ने हो भने रोनाल्डोको भन्दा क्लब करिअरमा बढी गोल गर्न नसक्लान् भन्न सकिन्न ।

तर, सिजनको अन्त्यतिर निकै फर्ममा देखिएका ३५ वर्षीय रोनाल्डोको फिटनेशमा भने शंका गर्ने कुनै ठाउँ छैन । यी कुराहरूले यी दुईबीचको शीर्ष गोलकर्ताको होडबाजी अझै केही वर्ष निरन्तर चल्ने निश्चित छ ।

क्लब करिअरमा चार गोलले रोनाल्डोभन्दा पछि रहेका मेस्सीले २००५–०६ को सिजनबाट बार्सिलोनाको सिनिअर टिममा डेब्यू गर्दै व्यवसायिक लिगमा आफ्नो करिअर सुरु गरेका थिए । न्यूवेल्स क्लबाट सन् २००० मा बार्सिलोनाको युथ एकेडेमीमा आबद्ध भएका मेस्सीले बार्सिलोनाको युथ, यू–१६, यू–१९, सी र बी गरी सबै उमेर समूहबाट खेलेका थिए ।

स्पेनिस क्लब बार्सिलोनामा नै रहेर १५ वर्षयता खेलिरहेका मेस्सीले हालसम्म ७३१ खेल खेलिसकेका छन् भने ६३४ गोल र २८५ गोलका लागि असिस्टसमेत गरेका छन् ।

तर बार्सिलोना बोर्डसँग रुष्ट बनेका मेस्सी आउँदो सिजन अर्थात २१–२२ बाट बार्सिलोनाबाट टाढा हुन सकिने देखिन्छ । क्लबको लगातारको खराब प्रदर्शन र क्लबको कार्यकारी समितिबाट दिक्क भएका मेस्सीले केही साताअघि आफूले क्लब छोड्न चाहेको र त्यसको लागि बार्सिलोनाले आवश्यकताअनुरुपको वातावरण मिलाइदिन क्लबसामु आग्रह गरेका थिए ।

तर रिलिज क्लजको लागि ७०० मिलियन यूरो अनिवार्य र सम्झौता अवधि नसकिएको भन्दै क्लबले मेस्सीलाई बार्सिलोनाबाट यो सिजन बाहिरिन नदिएको हो ।

राष्ट्रको लागि कसको गोल कति ?

क्लब करिअरमा दुईबीच प्रतिस्पर्धा कडा भए पनि राष्ट्रको लागि गोल गर्न विषयमा भने मेस्सी रोनाल्डोभन्दा धेरै पछि रहेका छन् । अर्जेन्टिनाका लागि १३८ खेल खेलिसकेका मेस्सीले हालसम्म ७० गोल मात्र गर्न सफल भएका छन् ।

यता, रोनाल्डोलाई हेर्ने हो भने उनी देशका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा रहेका छन् । रोनाल्डोको १६५ खेलमा १०१ गोल रहेको छ । रोनाल्डोभन्दा अघि तालिकाको शीर्ष स्थानमा १०९ गोलका साथ इरानी खेलाडी अली डाई रहेका छन् ।

यदि, रोनाल्डो जारी यूईएफ नेशन्स लिगभरि फिट रहने हो र पोर्चुगल फाइनलसम्म पुग्ने हो भने रोनाल्डोले अलीको रेकर्ड तोेड्नसमेत सक्ने देखिन्छ । प्रतियोगितामा एक खेल मात्र खेलेका रोनाल्डोले स्वीडेनविरुद्ध दुई गोल गर्दै आफ्नो गोल संख्यामा वृद्धि गराएका छन् ।

क्लब फुटबलमा सफल मेस्सीले राष्ट्रको लागि भने केही गर्न नसकेको आरोप लाग्दै आएको छ । प्रतिद्वन्द्वी रोनाल्डोले पोर्चुगलका लागि गरेको गोल संख्यालाई लिएर पनि मेस्सीको आलोचना हुने गरेको छ ।

तर मेस्सीले रोनाल्डोभन्दा राष्ट्रका लागि २७ खेल कम खेलेका छन् । फर्ममा रहेका मेस्सीले अर्जेन्टिनाबाट खेल्दा गोल गर्न सक्ने हो भने रोनाल्डोसँग अन्तर्राष्ट्रिय गोल संख्यामा कडा टक्कर दिन सक्ने निश्चित छ ।

कोसँग अन्तर्राष्ट्रिय उपाधि कति ?

मेस्सीले सर्वाधिक ६ पटक र रोनाल्डोले पाँच पटक गरी समग्रमा यी दुईले एघार पटक बालोन डी‘ओर उपाधि जितेको भएपनि दुवैले फुटबल विश्वकप उपाधि भने जित्न सकेका छैनन् । सन् २०१४ विश्वकप उपाधि नजिकै पुगेर पनि उपाधिविमुख भएको मेस्सी त्यसयता कुनै प्रतियोगितामा पनि सफल हुन सकिरहेका छैनन् ।

कोपा अमेरिकामा सन् २०१५ र २०१६ मा लगातार दुई पटक फाइनलमा पुगेर पनि पेनाल्टी सुटआउटमा पराजित हुँदा लगातार तीन वर्ष ठूला प्रतियोगिताको फाइनलमा पुगेर पनि उपाधि जित्न नसकेको आरोप मेस्सीलाई लागिरहने गरेको छ ।

सन् २०१४ को विश्वकपमा जर्मनीसँग पराजित भएसँगै अर्जेन्टिना लगातार दुई पटक कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसयता दुई ठूला प्रतियोगिता खेले पनि अर्जेन्टिना सेमिफाइनलदेखि अघि बढ्न सकेको छैन ।

रसिया विश्वकप २०१८ को अन्तिम १६ मा फ्रान्ससँग ४–२ ले पराजित भएको अर्जेन्टिना कोपा अमेरिका २०१९ को सेमिफाइनलमा ब्राजिलसँग २–० ले पराजित भएको थियो । देशको लागि केही गर्न नसकेको आलोचना खेपिरहेका मेस्सीसँग कोपा अमेरिका २०२१ र कतार विश्वकप २०२२ को उपाधि जित्न सक्ने मौका भने अझै बाँकी नै छ ।

त्यसो त मेस्सीले देशको लागि उपाधि दिलाउन नै नसकेको भने होइन । सन् २००५ मा आयोजना भएको फिफा यूथ विश्वकप र ओलम्पिक २००८ मा मेस्सीले अर्जेन्टिनालाई च्याम्पियन बनाएका थिए । अर्जेन्टिनाले दुवै प्रतियोगिताका फाइनलमा नाइजेरियलाई हराएको थियो ।

फिफा यूथ विश्वकपको फाइनलमा मेस्सीले दुई गोल गर्दै उपाधि दिलाएका थिए भने अर्जेन्टिनाले ओलम्पिकमा स्वर्ण जित्दा मेस्सीको भूमिका महत्वपूर्ण थियो । तर त्यसयता भने मेस्सीले अर्जेन्टिनालाई उपाधि नजिक पुर्‍याए पनि उपाधि जिताउन सकेका छैनन् ।

यता रोनाल्डोले भने आफ्नै कप्तानी दुई ठूला प्रतियोगिता जित्न सफल भइसकेका छन् । २०१६ मा यूरो कप र २०१८ मा यूईएफए नेशन्स कप जित्न रोनाल्डो सफल भएका हुन् ।

सन् २००३ बाट पोर्चुगल राष्ट्रिय फुटबल टोलीको नियमित सदस्य रहेका रोनाल्डोले विश्वकपमा भने फाइनलसम्मको यात्रा तय गर्न सकेका छैनन् ।

२००६ को विश्वकपमा सेमिफाइनलसम्म पुगेका रोनाल्डो फ्रान्ससँग पराजित हुँदै घर फर्किएका थिए । त्यसयता भने पोर्चुगलले फिफा विश्वकपमा अन्तिम १६ देखि आफ्नो यात्रा अघि बढाउन सकिरहेको छैन । पोर्चुगल २०१० मा स्पेन, २०१४ र २०१८ मा उरुग्वेसँग राउण्ड अफ १६ मा स्तब्ध बनेको थियो ।

विश्वकपमा सुखद नतिजा दिलाउन नसके पनि रोनाल्डोले नेतृत्त्व गरेको टोलीले २०१८ मा आयोजित पहिलो संस्करणको यूईएफए नेशन्स लिगको उपाधि जितेको थियो । २०१८ रसिया विश्वकपलगत्तै आयोजना भएको प्रतियोगितामा युरोपका ५५ राष्ट्रले भाग लिएका थिए ।

प्रतियोगिताको पहिलो संस्करण जित्दा नेदरल्याण्ड्सलाई १–० ले पराजित गरेको पोर्चुगलको राष्ट्रिय टोलीमा रोनाल्डोले महत्त्वपूर्ण भूमिका निभाएका थिए । यतिबेला रोनाल्डोले नै नेतृत्त्व गरिरहेको पोर्चुगल दोस्रो संस्करणको नेशन्स लिग खेलिरहेको छ ।

दुई खेलमा स्पष्ट जित निकालिसकेको पोर्चुगल आफ्नो उपाधि जोगाउन पक्षमा रहेको छ भने रोनाल्डो राष्ट्रको लागि तेस्रो उपाधि जिताउने दाउमा रहेका छन् ।

एजेन्सीको सहयोगमा शिवहाङ राई