अक्सफोर्ड खोपको ट्रायल रोकिएपछि डब्ल्यूएचओले भन्यो : खोपको सुरक्षाको विषयमा कुनै पनि सम्झौता हुँदैन

विराटनगर, २६ भदौ । एस्ट्राजेनेका र अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोरोना भाइरसविरुद्धको खोपको क्लिनिकल परीक्षण रोकेपछि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को धारणा सार्वजनिक भएको छ ।

डब्लुएचओले आफ्नो आधिकारिक बयानमा खोपको सुरक्षाको विषयमा कुनै पनि सम्झौता हुनु नहुने कुरालाई प्रस्ट पारेको छ ।

डब्लुएचओकी प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथनले कोभिड १९ खोपको सबैभन्दा पहिलो र अतिआवश्यक प्राथमिकता सुरक्षितता हुनुपर्ने बताएकी छन् । खोप सुरक्षाका विषयमा कुनै पनि किसिमको सम्झौता वा कटौती नहुने उनको भनाइ छ ।

‘खोप बनाउने प्रक्रियामा सबै नियमहरूको पालना गर्नुपर्छ’, स्वामीनाथनले भन्छिन् ‘आम मानिसहरूलाई औषधि वा खोप दिनुभन्दा पहिले त्यसको सुरक्षाको जाँच हुनु जरुरी छ’ ।

कोरोना भाइरसविरुद्धको खोप विकास गर्ने क्रममा मानव परीक्षणमा सहभागी जनाएर खोप लगाएका एक व्यक्ति बिरामी परेपछि सम्भाचना बोकेको खोपको क्लिनिकल परीक्षणलाई अचानक रोक्नु परेको थियो ।

एस्ट्राजेनेकाका प्रवक्ताले भने ट्रायल रोकिनुलाई पनि नियमित प्रक्रिया बताएका छन् ।

अक्सफोर्ड युनिभर्सिटीमा कोरोना भाइरसको खोपको ट्रायल दोस्रो पटक रोकिएको हो ।

ठूला ट्रायलमा यस्तो हुनु सामान्य कुरा मानिन्छ । परीक्षणमा समावेश व्यक्तिलाई अस्पताल भर्ना गर्दा उनको रोगको कारण तत्काल पत्ता लाग्न नसक्दा ट्रायललाई केही दिनको लागि रोकिने गरिन्छ ।

केही दिनपछि ट्रायल पुनः सुरु हुने बताइएपनि कम्पनीले ट्रायल पुनः कहिले सुरु हुन्छ भन्ने कुरा बताएको छैन ।

Loading...