कोरोना कहर : आमा दिल्लीमा अलपत्र, भोकमारीले बुबा बिते, सन्तानको बिचल्ली

विराटनगर, २६ भदौ । भोकमारी सहन नसकेर मोरङमा एक व्यक्तिले आत्महत्या गरेका छन् । मोरङको सुन्दरहरैंचा नगरपालिका–१० सुकुम्बासी बस्तीका ४७ वर्षीय अशोक दर्जीले मंगलबार घरमै आत्महत्या गरेका हुन् ।

दर्जीले आत्महत्या गरेपछि उनका छोराछोरीको बिचल्ली भएको छ । अशोककी श्रीमती भारतमा अलपत्र छिन् । विदेश पठाउने भन्दै दलालले श्रीमतीलाई दिल्ली पुर्‍याएका थिए । तर दिल्ली पुग्नेबित्तिकै लकडाउन सुरु भयो । बेखर्ची भएर उनी दिल्लीमा अलपत्र परेकी हुन् ।

छातीमा राख्ने एक मानो चामल पनि थिएन

अशोकले लामो समय ठेला चलाए । लकडाउन सुरु हुनुभन्दा केही महिनाअघिदेखि उनले निर्माण मजदूरको काम पाए । तर लकडाउनले उनको काम रोकियो । घरमा खाने अन्न सकिए पनि आम्दानीको बाटो भएन ।

लकडाउनअघि दुःखले दैनिकी चलेकै थियो । ६ जनाको परिवार पालेका थिए । धन कमाउने र दिन फेरिने आशामा अशोककी श्रीमती विदेश जान तयार भइन् । तर दलालले दिल्ली पुर्‍याएर अलपत्र पारिदिए ।

आम्दानी नभएपछि घरमा खाने अन्न सकियो । केही दिनअघि उनले परिवार पाल्नकै लागि घरमा भएको सिलिण्डर बेचे । तर पुगेन । भोकमारी सहन नसकेर उनले आत्महत्याको बाटो रोजे ।

मंगलबार अशोकले आत्महत्या गरेपछि १७ र १५ वर्षकी छोरी र १३ वर्षका छोराको बिचल्ली भएको स्थानीय अगुवा कुमार मिजारलले बताए ।अशोककी २१ वर्षीया छोरीको भने विवाह भइसकेको छ ।

‘आत्महत्यापछि हामी पुगेर हेर्दा घरमा छातीमा राख्नका लागि एक मानो चामल थिएन,’ मिजारलले भने, ‘चन्दा उठाएर पोष्टमार्टम गरेर दाहसंस्कार गर्‍यौं ।’

मजदूरी गरेर गुजारा चलाउने दर्जीले आर्थिक अवस्था कमजोर भएका कारण आत्महत्या उनले बताए । ‘परिवार विपन्न हो । छोरा–छोरीले मागेर खाना खाएको पनि रहेछन्,’ उनले भने, ‘भोकमारी सहन नसकेर बित्नु भयो जस्तो लाग्छ ।’ दिल्लीमा अलपत्र परेकी श्रीमतीलाई फर्काउन समस्या भएको उनले बताए ।

सुन्दरहरैंचा नगरपालिका–१० का अध्यक्ष राजेन्द्रबहादुर थापाले आर्थिक अवस्था कमजोर भएका दर्जीले आत्महत्या गरेको बताए । मृत्युपछि आर्थिक अवस्था कमजोर भएको परिवारलाई संघसंंस्थाले सहयोग गरिरहेको बताए ।

भोकमारीका कारण बुबा बितेपछि बिचल्लीमा परेको परिवारलाई विराटनगरका युवा विनोद चाहारले सहयोगका अभियान सुरु गरेका छन् ।

Loading...