बलिउड क्वीन कंगना रनावत : फिल्म क्षेत्रमा बेग्लै छाप, यस्तो छ विगत

विराटनगर, २६ भदौ । सन् २०१४ को फिल्म ‘क्वीन’मा जबरदस्त अभिनयका कारण अभिनेत्री कंगना रनावतलाई बलिउडको क्वीन पनि भनिने गरिन्छ ।

क्वीनको रूपमा परिचित कंगना पछिल्लो समय चर्चामा छिन् । केही दिनयता भारतीय न्यूज च्यानलको हेडलाइन बनिरहेकी छन् । बलिउड अभिनेता सुशान्त सिंह राजपूत आत्महत्यापश्चात चर्चामा रहेकी कंगनाको अफिस गैरकानूनी निर्माण भन्दै महाराष्ट्र सरकारले भत्काइदिएपछि उनी चर्चाको शिखरमा छिन् ।

बलिउड अभिनेत्री कंगना रनावतले ‘ग्याङ्गस्टर’ (२००६), फेशन (२००८), तनु वेड्स मनु (२०११), क्वीन (२०१४), मनिकर्णिका : द क्वीन अफ झासी, पंगाजस्ता हिट फिल्म खेलेकी छन् ।

उनी शक्तिशाली बी–टाउन उद्योग व्यक्तित्व तथा राजनीतिक नेताका अगाडि भिडियो तथा ट्वीटरमार्फत आफ्नो राय सार्वजनिक गर्न डराएकी छैनन् ।

हिन्दी फिल्मकी प्रसिद्ध अभिनेत्री कंगना रनावतको जन्म २३ मार्च १९८७ मा भएको हो ।

हाल मुम्बइमा बस्दै आएकी उनी हिमाचल प्रदेशको सानो ठाउँ बामबालामा राजपूत परिवारमा जन्मेकी थिइन् । सामान्य परिवारमा जन्मिएकी कंगना  सानै उमेरदेखि  जिद्दी स्वभावकी थिइन् । चण्डीगढको डीएवी स्कूलबाट प्रारम्भिक शिक्षा प्राप्त गरेकी कंगना बाल्यकालदेखि नै तेज थिइन् ।

अध्ययनमा राम्रो रहेका कारण उनको परिवारले उनलाई डाक्टर बनाउन चाहन्थे । तर, कक्षा १२ को एक विषयमा फेल भएपछि कंगनाले थप अध्ययन गर्न चाहिनन् । १६ वर्षको उमेरका दिल्ली आएकी उनलाई सुन्दर भएको कारण धेरै मोडलिङको अफर  आउने गर्थ्यो । केही ठाउँमा मोडलिङ गरेपनि रचनात्मकताको लागि कुनै अवसर नदेखेका कारण कंगनाले अभिनयतिर ध्यान केन्द्रित गर्ने निर्णय गरिन् ।

त्यसपछि, थिएटर निर्देशक अरविन्द गौरको नेतृत्त्वमा प्रशिक्षण लिइन् । यस अवधिमा ‘रोटी र आचार’ मात्र खाँदै संघर्ष गरेकी कंगनालाई बुबाले आर्थिक सहयोग गर्न अस्वीकार गरेपछि बुबा-छोरीको सम्बन्धमा दरार आयो ।

उनका आफन्त फिल्म उद्योगमा प्रवेश गर्ने निर्णयप्रति खुशी हुन सकेनन्, जसकारण केही समय बोलचाल बन्द पनि भयो । तर, सन् २००७ मा ‘लाइफ इन ए मेट्रो’ को रिलिजपछि कंगनाको परिवार तथा नातेदारसँग मेलमिलाप भएको थियो ।

सन् २००६ मा अनुराग बासुको निर्देशनमा बनेको फिल्म ‘ग्याङ्गस्टर’ बाट बलिउडमा डेब्यू गरेकी कंगनाले विभिन्न डेब्यू पुरस्कारका साथै सर्वश्रेष्ठ महिला डेब्यूको लागि फिल्मफेयर पुरस्कार जितिन् ।

त्यसपछि कंगनाले पछाडि फर्केर हेर्नुपरेको छैन । करिअरको सुरुआतमा अंग्रेजी राम्ररी बोल्न नआएको कारणले उनलाई बलिउडमा धेरै समस्याहरूको सामना गर्नुपर्‍यो ।

धेरै पटक हासोको पात्रसमेत बनेकी कंगनाले यी कुरामा ध्यान दिइनन् र सफलता हासिल गरिरहिन् । कंगनाले सन् २००७ देखि हालसम्म ‘वो लम्हे’, ‘लाइफ इन ए मेट्रो’ फेशन,राज, वान्स अपोन टाइम इन मुम्बई, तनु वेड्स मनु, क्रिश ३,  तनु वेड्स मनु रिटर्न्स, रंगून, सिमरन, मनिकर्णिका, जजमेन्टल हे क्या, पंगालगायतका हिट फिल्महरूमा अभिनय गरेकी छन् ।

उनका पात्रहरू सँधै छलफलको विषय बनेका छन्, जुन दर्शकले धेरै मन पराउँछन् । यसैले उनलाई सफल अभिनेत्रीको रूपमा लिइएको छ ।

उनले बलिउडमा धेरै पुरस्कार पाएकी छन् । उनलाई  राष्ट्रिय पुरस्कार तथा पद्मश्री पुरस्कारबाट पनि सम्मानित गरिएको छ ।

कंगना सन् २०१२, २०१४, २०१७ र २०१९ मा फोर्ब्स इन्डियाले सार्वजनिक गरेकाे वार्षिक सेलिब्रिटीको १०० सूचीभित्र परेकी थिइन् । २०१७ मा, फोर्ब्सले उनको वार्षिक आम्दानी  ४.५ मिलियन डलर्स रहेको उल्लेख गरेको छ । जुन देशको अभिनेत्रीहरूमध्ये उच्च हो ।

सोही वर्ष, उनी द इन्डियन एक्सप्रेसको सबैभन्दा शक्तिशाली भारतीयको सूचीमा पर्ने दुई अभिनेत्रीमध्ये एक थिइन् ।

अविवाहित रहेपनि कंगनाको अभिनेता आदित्य पञ्चोली, अध्ययन सुमन, अजय देभगन, ऋतिक रोशन तथा डा. निकोलस लेफ्फट्रीसँग नाम जोडिएको थियो ।

मिडियामा आदित्य पञ्चोलीसँगको सम्बन्धका बारेमा  हल्ला फैलिएपछि कंगनाले आदित्य आफ्नो मिल्ने साथी भएको बताएकी थिइन् ।

दुवैबीच विवाद सुरु भएपछि कंगनाले रक्सीको सेवनपछि कुटपिट र दुर्व्यवहार गरेको भन्दै आदित्य पञ्चोलीविरुद्ध प्रहरी रिपोर्ट गरेकी थिइन् ।

शेखर सुमनका छोरा अध्ययन सुमन र उनको प्रेमको चर्चा चलेपछि उनले यो खबर अस्वीकार गरिन् ।  सन् २०१६मा अभिनेता ऋतिक रोशनले पनि कंगनाविरुद्ध साइबर अपहरण र उत्पीडनको आरोप लगाउँदै मुद्दा हालेका थिए ।

आरोप अस्वीकार गर्दै, कंगनाले ऋतिकविरुद्धमा आफ्नो सम्बन्ध लुकाउन खोजेको आरोप लगाउँदै मुद्दा दायर गरेकी थिइन् ।

सन् २०१८ मा मी टू अभियान सुरु हुँदा कंगनाले फिल्म क्विनका निर्देशक विकास बहलमाथि आरोप लगाएकी थिइन् ।

फिल्म मणिकर्णिकाको सुटिङका बेला भएको विवादले फिल्ममा महत्त्वपूर्ण भूमिका निभाउन लागेका सोनू सूद तथा फिल्मका निर्देशक कृषले फिल्म बीचमै छोडिदिए ।

मिडियाका अगाडि आफ्ना विचार र सोचाइ खुल्लमखुल्ला राख्ने कंगना  कुनै न कुनै कुराका कारणले विवादको घेरामा परेकी थिइन् ।

अभिनेता सुसान्त सिहं राजपूतको मृत्युपछि कंगना जीवनमा अहिलेसम्मकै ठूलो विवादमा तानिएकी छन् । गत १४ जुनमा सुशान्तको आत्महत्यापछि कंगनाले सुशान्तको मृत्युको कारण बलिउड र नातावाद भएको आरोप लगाउँदै भिडियो सार्वजनिक गरेकी थिइन् ।

कंगनाका अनुसार बलिउडले दिएको दवाव र करण जोहर, महेश भट्टलगायत केही फिल्मकर्मीले मिलेर उनलाई ‘बाइकट’ गरेको र सुशान्तको आत्महत्या नभएर नियोजित हत्या गरिएको थियो ।

कंगनाले अभिनेता राजपुतको निधनका बारेमा आफूले गरेको दाबी गलत साबित भएमा आफ्नो पद्मश्री पुरस्कार फिर्ता गर्नेसमेत बताएकी थिइन् ।

कंगनाले करण र महेशका अलावा रणवीर सिंह, दीपिका पादुकोण, स्वरा भास्कर, तप्सी पन्नु, आलिया भट्ट, अनन्या पाण्डे, आयुषमान खुरानालगायत बलिउडका कलाकारमाथि टिप्पणी दिएकी छिन् । जसले उनलाई थप विवादमा तानेको छ ।

सुशान्तको मृत्यु प्रकरणमा जब ड्रगको कुरा आयो तब बलिउडमा ९९ प्रतिशत मानिसहरू लागुऔषधको सेवन गर्ने आरोप लगाइन् ।

नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले कथित बी–टाउनमा व्याप्त ड्रग कल्चरको अनुसन्धान गरिरहेको बेलामा कंगनाले ट्वीटरमा ड्रग्स कन्ट्रोल ब्यूरो बलिउडमा प्रवेश गरी रगत परीक्षण गरिएको खण्डमा धेरैको अवस्था बाहिर आउने बताइन् ।

कंगनाले रणवीर सिंह, रणवीर कपूर, आया मुखर्जी र विक्की कौशकलाई दुर्व्यसनको अफवाह हटाउन औषधि परीक्षण गर्नसमेत चुनौती दिएकी छन् ।

हिमाञ्चलबाट मुम्बई पुग्दा उनीविरुद्ध शिवसेना कार्यकर्ताको ठूलो भीडले नाराबाजी गरेको थियो । उनलाई प्रहरीले विशेष सुरक्षासहित घर बान्द्रा पाली हिल रोड पुर्‍याएका थिए ।

कंगनाले मुम्बईमा आफूलाई सुरक्षित महशूस गर्न नसक्ने बताएकी थिइन् ।

करिब ४८ करोडमा बनेको कंगनाको मणिकर्णिका फिल्म्सको अफिसमा बुधबार बिहान अवैध निर्माण गरेको भन्दै बीएमसीले डोजर चलाएको थियो । घर पुगेर कंगनाले महाराष्ट्रका मुख्यमन्त्रीलाई आज मेरो घर टुटेको छ, भोलि तिम्रो घमण्ड टुट्नेछ भन्दै सिधै चुनौती दिएकी छन् ।

उनले चुनौती दिँदै फिल्म माफियाको साथ मिलेर ठूलै बदला लिए जस्तो लागेपनि आफूलाई ठूलै सहयोग गरेको बताएकी छन् । उनले आफ्नो अफिस भत्काएको भन्दै अदालतमा मुद्धासमेत हालेकी थिइन् । अदालतले कंगनाको अफिस नभत्काउन आदेश दिएको थियो ।

कंगनाले आफ्नो भत्केको अफिसको हाल पैसाको अभावको कारण मर्मत नगराउने बताएकी छन् । उनका अनुसार कुनै पनि प्रकारको अवैध निर्माण नभएको आफ्नो अफिसलाई जस्तो छ त्यस्तै राख्ने र यसलाई एक महिलाको इच्छाशक्तिको उदाहरण रूपमा पेश गर्ने बताएकी छन् ।

कंगनाले भारतका जनतालाई सचेत गराउन अयोध्याको विषयमा मात्र नभएर कश्मिरको विषयमा पनि एउटा फिल्म बनाउने घोषणा गरेकी छिन् ।

अभिनेता सुशान्त सिंह राजपुतको निधनपश्चात कंगनाले निरन्तर आवाज उठाउँदै पूरा फिल्म इन्डष्ट्रीलाई कटाक्ष गरिरहेकी छन् । यस विषयमा धेरैले उनको प्रशंसा गरेका छन् भने कतिपयले चर्चामा आउन सुशान्तको मृत्युको फाइदा उठाइरहेको दोष दिएका छन् ।

Loading...