तनहुँमा पाँच सशस्त्र प्रहरीसहित १३ जना संक्रमित थपिए

तनहुँ, २६ भदौ । तनहुँमा सशस्त्र प्रहरीसहित थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भानु नगरपालिकास्थित मनकामना सशस्त्र प्रहरी बल गणका पाँच प्रहरीसहित १३ जनालाई कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

निर्देशनालयका अनुसार सशस्त्र प्रहरी बलका ३२, ३२, ३१, ३२ र ३१ वर्षीय प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको हो । सशस्त्र प्रहरी बलका ७ जनाको स्वाब संकलन गरिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।

अन्य सबै कन्ट्याक्ट ट्रेसिङबाट पहिचान भएका हुन् । भानु नगरपालिकाका कोरोना संक्रमित सशस्त्र प्रहरी चितवनको भण्डारास्थित नम्बर ३ बाहिनी बाट सरुवा भएर आएका हुन् ।

उनीहरू भानुको मनकामना गणमा सरुवा भएर आएपछि गणले २३ भदौमा पीसीआर परीक्षण गराएको थियो । त्यस्तै शुक्लागण्डकी नगरपालिकाको एक पुरुषमा कोरोना पुष्टि भएको छ ।

आँबुखैरेनी गाउँपालिका र भिमाद नगरपालिकामा १–१ जनामा संक्रमित थपिएका छन् । त्यस्तै भानु नगरपालिका–१ का ४५ वर्षीय पुरुष, २७ वर्षीया महिला, भानु नगरपालिका–६ का ६२ वर्षीया महिला, ४२ र ५१ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

यससँगै तनहुँमा कोरोना संक्रमितको संख्या ३२६ जना पुगेको छ । त्यसमध्ये २२६ जना निको भएका छन् भने ३ जनाको मृत्यु भइसकेको छ ।

Loading...