मेस्सीले विश्वकप छनौट खेल खेल्न पाउने दाबी

एजेन्सी, २६ भदौ । अर्जेन्टिनी फुटबल संघ (एएफए)ले आफ्ना कप्तान लियोनल मेस्सीले विश्वकप छनौटका खेल खेल्न पाउने दाबी गरेको छ ।

शुक्रबार बिहान एक ट्वीट गर्दै एएफएले मेस्सीले विश्वकप छनोटअन्तर्गत आगामी महिना हुने इक्वाडर र बोलिभियाविरुद्धको खेल खेल्न पाउने दाबी गरेको हो ।

मेस्सीमाथि सन् २०१९ मा लागेको एक खेलको प्रतिबन्धको अवधि सकिएका कारण उनले विश्वकप छनोटका खेल खेल्न पाउने एएफएका अध्यक्ष क्लाउडियो तापियाले दाबी गरेका छन् ।

संघले दक्षिण अमेरिकी फुटबल महासंघमा मेस्सीको प्रतिबन्ध अवधि सकिएको दाबी गर्दै अपील गरको तापियाको भनाइ छ ।

जुलाइ २०१९ मा कोपा अमेरिकाका क्रममा मेस्सीमाथि एक खेलको प्रतिबन्ध लागेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा विपक्षी टोलीका खेलाडीसँग झगडा गरेपछि उनलाई रातो कार्ड देखाइएको थियो ।

त्यसपछि प्रतियोगितामा ‘सेटिङ’ गरिएको भन्दै आयोजकलाई आरोप लगाएका उनलाई प्रतिबन्ध लगाइएको थियो ।

मेस्सीमाथिको एक खेलको प्रतिबन्ध प्रतिस्पर्धात्मक खेलका लागि मात्र भएका कारण उनले गत वर्ष ब्राजिल र उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेल खेलेका थिए ।

यता, एएफएले भने मेस्सीको प्रतिबन्धको अवधि एक वर्षसम्म मात्र रहने भएकाले अब उनले आगामी महिनाको खेल खेल्न पाउने दाबी गरेको छ ।

Loading...