कालिज फार्मभित्र चितुवा पसेपछि…

म्याग्दी, २६ भदौ । म्याग्दीको बेनी नगरपालिका–४, सिङ्गाको कालिज फार्ममा चितुवा पसेको छ । हरियाली ग्रुपले सुरु गरेको व्यवसायिक कालिज फार्मभित्र बिहीबार राति चितुवा परेको फार्मका प्रवन्ध निर्देशक शेरबहादुर केसीले जानकारी दिए ।

बिहान कालिजलाई दानापानी दिने क्रममा प्रालिका कर्मचारी फार्मभित्र पस्दा बयस्क चितुवा फार्मभित्र थियो । आहाराको खोजीमा चितुवा जाली नाघेर कालिजको फार्मभित्र पसेको हुनसक्ने अनुमान गरिएको छ ।

४ सय ५० वटा कालिजहरू पालिएको फार्मभित्र पसेको चितुवाले कालिज मारेर खाएको भए पनि कति संख्यामा कालिज मारेको भन्ने एकिन नभएको केसीले बताए । अहिले कालिजको फार्मभित्र पसेको चितुवा नियन्त्रणको प्रयास गरिए पनि खुल्ला ठाउँ भएका कारण नियन्त्रणमा समस्या भइरहेको छ ।

चितुवा नियन्त्रणका लागि डिभिजन वन कार्यालय म्याग्दीबाट दुई जना कर्मचारी र तातोपानी प्रहरीचौकीबाट प्रहरीको टोली घटनास्थल पुगेका छन् ।

डिभिजन वन कार्यालयका निमित्त प्रमुख सन्तोष खनालले कार्यालयसँग रहेको फलामे खोरको सहायताले चितुवा नियन्त्रणको प्रयास गरिए पनि फार्मको क्षेत्र ठूलो र खुल्ला ठाउँ भएकाले समस्या भएको बताए ।

चितुवा नियन्त्रण गर्नका लागि प्रदेश वन निर्देशनालय पोखरामा जानकारी गराएपछि त्यहाँबाट नियन्त्रणको टोली झिकाउन चितवन राष्ट्रिय निकुञ्जमा आग्रह गरिएको निमित्त प्रमुख खनालले जानकारी दिए ।

Loading...