आजबाट इंग्ल्याण्ड र अष्ट्रेलियाबीच एक दिवसीय क्रिकेट

एजेन्सी, २६ भदौ । इंग्ल्याण्ड भ्रमणमा रहेको अष्ट्रेलियाले घरेलु टोलीसँग शुक्रबार (आज)बाट तीन खेलको एक दिवसीय शृंखला खेल्दैछ ।

यस शृंखलाको तीनवटै खेलहरू म्यानचेष्टरको ओल्ड ट्राफोर्डमा हुनेछन् । आज नेपाली समयानुसार साँझ ५ः४५ बजेबाट इंग्ल्याण्ड र अष्ट्रेलियाबीचको एक दिवसीय सुरु हुनेछ ।

इंग्ल्याण्डको कप्तानी इओइन मोर्गानले गर्नेछन् भने अष्ट्रेलियाको कप्तानी इरोन फिन्चले गर्नेछन् । यस्तै इंग्ल्याण्डका लागि चोटको उपचारपछि मैदानमा फर्किएका स्टार ब्याट्सम्यान जेसन रोयको आगमन हुँदैछ ।

विश्वकप विजेता इंग्ल्याण्ड ब्याटिङ र बलिङ दुवैमा उत्कृष्ट तालमेलमा रहेको छ । त्यसबाहेक उसले यसै साता भएको तीन खेलको टि–ट्वान्टी सिरिजमा पनि अष्ट्रेलियालाई पराजित गरेकोले उच्च मनोबलमा छ ।

सोही हारको बदला लिने लक्ष्यमा अष्ट्रेलिया रहेको छ । सन् २०१९ को विश्वकपयता खेलेका एकदिवसीय खेलहरूमा अष्ट्रेलियाले केवल दुईवटामा मात्र जित हात पारेको छ ।

यसअघि यी दुई देशबीच सम्पन्न भएको टी–ट्वान्टीमा इंग्ल्याण्डले २–१ ले यो शृंखला हात पारेको थियो ।

Loading...