मन्त्री घिमिरेको कोरोना रिपोर्ट पुनः पोजेटिभ

विराटनगर, २६ भदौ । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेको पीसीआर रिपोर्ट पुनः पोजेटिभ आएको छ ।

कोरोना लक्षण देखिएको दुई सातापछि बिहीबार गरिएको पीसीआर परीक्षणको रिपोर्ट पुन: पोजेटिभ आएको प्रदेश १ जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ ।

स्वास्थ्य अवस्था सामान्य हुँदै गएको र कोरोनाका लक्षणहरू हराउँदै गएकाले पुन ः परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको मन्त्री घिमिरेको स्वकीय सचिवालयले जनाएको छ ।

रुघाखोकी, जीउ दुख्ने लक्षणबाहेक डाइरिया, टाउको दुख्ने, ज्वरो जस्ता समस्या समाधान हुँदै गएको प्रमुख स्वीकय सचिव तिलकबहादुर बस्नेतले बताए । बस्नेतका अनुसार मन्त्री घिमिरेको रक्तचाप र अक्सिजनको मात्रा सामान्य छ ।

मन्त्री घिमिरेलाई १५ भदौमा कोरोना संक्रमण पुष्टि भएको थियो । संक्रमण पुष्टि हुनुअघिदेखि नै उनलाई सामान्य लक्षणहरू देखिएपछि १३ भदौ साँझदेखि होम आइसोलेशनमा रहेका थिए ।

Loading...