भारत र चीनबीच सहमति, होला त तनावको अन्त्य ?

विराटनगर, २६ भदौ । सीमा क्षेत्रमा भइरहेको तनाव अन्त्य गर्ने विषयमा भारत र चीनबीच समझदारी बनेको छ ।

वास्तविक नियन्त्रण रेखा (एलएसी)मा जारी तनाव अन्त्य गर्न दुई देशबीच पाँच बुँदै सहमति भएको हो । सहमतिका लागि दुई देशका अधिकारीबीच मस्कोमा भेटवार्ता भएको थियो । भारतीय विदेश मन्त्री एस जयशंकर र उनका चिनियाँ समकक्षी वांग यीबीच रुसको मस्कोमा भएको भेटवार्तामा पाँच बुँदे सहमति भएको समाचार संस्था एएनआईले जनाएको छ।

तर समाजमा सार्वजनिक गरिए पनि बैठकमा भएको भनिएका ठोस सहमतिका बारेमा सार्वजनिक गरिएको छैन । बैठकमा भारतका विदेश मन्त्री जयशंकरले एलएसीमा जारी तनाव थप बढाउने पक्षमा भारत नरहेको र चीनसँगको भारत नीतिमा पनि कुनै परिवर्तन नरहेको स्पष्ट पारेको एएनआईले उल्लेख गरेको छ।

चीनको भारत नीतिमा पनि कुनै परिवर्तन नभएको विश्वास भारतलाई रहेको विदेशमन्त्री जयशंकरले बैठकमा बताएका थिए। चिनियाँ विदेश मन्त्रालयले पनि दुई देश छिमेकी भएको नाताले केही मुद्दामा असहमति हुनु स्वभाविक रहेको तर त्यसलाई सही ढंगले समाधान गरिनुपर्ने पक्षमा चीन रहेको बताएको छ।

दुई देशबीच समझदारी बने पनि सीमा क्षेत्रमा यो वा त्यो बहानामा भइरहेका तनावको अन्त्य हुने कुरामा भने आशंका गरिएको छ । यसअघि पनि यस्ता धेरै सहमति बनेका थिए । तर दुई देशबीचको तिक्ततापूर्ण सम्बन्ध हटाउन कुनै पनि समझदारीले काम नगरेको जनाइएको छ ।

Loading...