Rumpum

Rumpum Advertisement

ह्याकरको निशानामा अमेरिकाको राष्ट्रपति निर्वाचन

ह्याकरको निशानामा अमेरिकाको राष्ट्रपति निर्वाचन

विराटनगर, २६ भदौ । अमेरिकामा आगामी नोभेम्बरमा हुने भनिएको राष्ट्रपति निर्वाचन ह्याकरको निशानामा परेको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

ह्याकरको साँठगाँठ रुस, चीन र इरानसँग रहेको दाबी गरिएको छ । निर्वाचनमा जोडिएका व्यक्ति तथा समूह ह्याकरको निशानामा परेको माइक्रोसफ्टले जनाएको छ ।

सन् २०१६ को चुनावलाईसमेत असर पुर्याएका रुसी ह्याकरहरु यस पटकको निर्वाचनमासमेत सक्रिय भरर बाधा गर्न थालेको माइक्रोसफ्टको भनाइ छ । रुसी ह्याकरले चार वर्षअघि डेमोक्र्याटिक चुनावी अभियानलाई निशाना बनाएका थिए र अहिले पनि सोही प्रकृतिको गतिविधि देखिन थालेको जनाइएको छ ।

विदेशी समूहहरु अमेरिकी चुनावलाई असर गर्न पुनः सक्रिय बनेको स्पष्ट भएको माइक्रोसफ्टले बताएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प र डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको चुनावी अभियानहरु ह्याकरको निशानामा आएका हुन् ।

रुसी ह्याकरले डेमोक्र्याटिक र रिपब्लिकन पार्टीसँग सम्बन्धित २०० भन्दा बढी संस्थालाई निशाना बनाइरहेको दाबी माइक्रोसफ्टले जारी गरेको वक्तव्यमा गरिएको छ । सोही समूहका साइबर आक्रमणकारीले बेलायती राजनीतिक पार्टीलाई पनि निशाना बनाएको उल्लेख छ।

यस्तै चिनियाँ ह्याकरले बाइडेनको चुनावी अभियानसँग जोडिएका व्यक्तिहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ । इरानका ह्याकरहरुले ट्रम्पको चुनावी अभियानसँग जोडिएका व्यक्तिलाई निशाना बनाउने क्रम जारी राखेका छन् ।