३६ घण्टाको व्रतपछि सकियो जितिया

जनकपुरधाम, २६ भदौ । मैथिल समुदायका आमाहरूको महान लोक पर्व जितिया पर्व सम्पन्न भएको छ ।

सो पर्व अन्तर्गत मैथिल आमाहरूले थुक पनि ननिलेर ३६ घण्टासम्म व्रत गरी पर्व सम्पन्न गरेका छन् । सप्तमी, अष्टमी र नवमी तिथिमा मनाइने यो पर्वमा सन्तानको आरोग्य कामनासहित कठोर व्रत गरिने चलन छ । विगतमा छोरा हुनेले मात्र व्रत वस्ने परम्परा रहेकामा आमाहरूले हाल सो परम्परा तोड्दै छोराछोरी दुवैको सुख, शान्ति र समृद्धिका लागि व्रत बस्ने गरेका छन् ।

‘जितिया पाबनि बड भारी’ (जितिया पर्व धेरै ठूलो छ) भन्ने कथन अनुरूप व्रती आमाहरूले निराहार उपवास बसी व्रतलाई खण्डित हुन नदिने सङ्कल्प गरेका हुन्छन् ।

जितिया मैथिल संस्कृतिको एउटा मुख्य पर्व हो । यसलाई जिमुतवाहन व्रत पनि भनिन्छ । विशेषरूपले आइतबार र मङ्गलबार पर्ने जितियालाई अधिक महत्व दिइन्छ । यस अन्तर्गत यस व्रतको सप्तमी तिथिमा व्रतीले नहाय खाय, तेलखरि र पितराइन, रातिको अन्तिम प्रहरमा ओठगन गर्ने चलन छ ।

अष्टमी तिथिका दिन व्रतीले नजिकको पोखरी, तलाउमा स्नान गरी भगवान् सूर्यलाई अघ्र्य अर्पण गर्छन् । त्यसपछि व्रतको सङ्कल्प गरिन्छ र घरमा आएर डाली भर्ने गरिन्छ । डालीमा नरिवल, काँक्रो, स्याउ, केरालगायतका फलफूल राखेर नयाँ कपडाले छोपिन्छ । मध्याह्नतिर टोलभरिका आमा एक ठाउँमा भेला भई जिमुतवाहन व्रतको महत्व, पर्वको शुभारम्भ र जिमुतवाहन देवताको बारेमा कथा सुन्ने गरिन्छ ।

साँझतिर आँगनमा गाईको गोबरले लिपपोत गरी एउटा सानो खाल्डो खनेर पोखरीको निर्माण गरिन्छ । त्यो पोखरीको डिलमा पाकडी रूखको सानो हाँगा गाड्नुका साथै हाँगाको माटोको चिलको आकृति र हाँगामुनि स्यालको आकृति बनाइन्छ । त्यहाँ जलले भरिएको कलशमा कुशको जिमुतवाहनको मूर्ति राखिन्छ र फलफूल लिएर जिमुतवाहनको व्रती आमाले पूजापाठ गर्दछन ।

नवमी तिथिका दिन व्रतीले स्नानादि गरी पवित्र भई पूर्ववत् जिमुतवाहन, चिल, स्यालको व्यवस्था गर्ने र दिवङ्गत महिलालाई नैवेद्य अर्पण गरेर प्रसाद लिई पारण गरी व्रतलाई सम्पन्न गरिने परम्परा रहेको छ । यो व्रत कुनै शास्त्रीय देवताको नभई लोकदेवताको भएको बुझिन्छ ।

यसमा जिमुतवाहन नामक लोकदेवताको पूजा गरिन्छ । जितिया व्रत गर्नाले सन्तानको दीर्घायु र आरोग्य रहनुका साथै खासगरी कुनै आकस्मिक खतराबाट रक्षा हुने विश्वास रहेको पाइन्छ । रासस

Loading...