मेस्सीसँग हुँदा सबै कुरा राम्रो हुन्छ : ग्रिजम्यान

एजेन्सी, २५ भदौ । फ्रेन्च स्टार एन्टोइन ग्रिजम्यानले बार्सिलोनाका कप्तान लियोनल मेस्सीसँग आफ्नो सुमधुर सम्बन्ध रहेको बताएका छन् । अघिल्लो सिजन बार्सिलोना आउँदा अर्जेन्टिनी स्टार मेस्सी र ग्रिजम्यानबीचको सम्बन्ध राम्रो नरहेको बताइन्थ्यो ।

तर, हालै ‘आरटीएल’ दिएको अन्तर्वार्तामा ग्रिजम्यानले मेस्सीसँगको सम्बन्ध राष्ट्रिय टोलीमा किलियन एम्बाप्पे जस्तै भएको बताए ।

‘मेस्सीसँगको सम्बन्ध एम्बाप्पेको जस्तै छ । हामीले पहिले भेट गरेनौं । यसैले हाम्रो सम्बन्ध स्थापना हुन लामो समय लाग्यो । तर, अहिले हामीबीच राम्रो सम्बन्ध छ । मेस्सीसँग हुँदा सबै कुरा राम्रो हुन्छ,’ उनले भने ।

यसैगरी ग्रिजम्यानले बार्सिलोनामा नै आफ्नो भविष्य रहेको बताए । पछिल्लो केही समययता ग्रिजम्यानले पनि बार्सिलोना छोड्ने चर्चा चलेको थियो ।

जर्मन क्लब बायर्न म्युनिखसँगको ८–२ गोलको लज्जास्पद हार र त्यसपछि सिर्जित समस्याका कारण ग्रिजम्यान लामो समय नबस्ने चर्चा चल्दै आएको थियो । अघिल्लो सिजन मात्र एथ्लेटिको मड्रिडबाट क्याप नोउमा अनुबन्ध भएका उनले आगामी सिजनमा बार्सिलोना छोड्ने विभिन्न रिपोर्टहरूले दाबी गर्दै आएका थिए ।

तर, २९ वर्षीय ग्रिजम्यानले भने आफ्नो भविष्य बार्सिलोनामै रहेको बताएका छन् । ‘म क्याप नोउमै मेरो भविष्य देख्छु । मलाई थाहा छैन मानिसहरू किन अरुको गन्तव्य तय गरिदिन्छन् । म बार्सिलोनामै खुशी छु । म विश्वस्त छु कि क्लब र प्रशिक्षकसँग मेरो तालमेल मिल्नेछ ।’

‘यसर्थ, म यहीँ ठीक छु । अघिल्लो सिजन सबैका लागि धेरै नै कठिन थियो र अब हामी सुरुआत गर्नका लागि तयार छौं । नयाँ सिजनका लागि उत्साहित छु,’ उनले थपे ।

Loading...