कोरोना नियन्त्रणमा आयुर्वेद प्रयोगलाई बढाउन प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने बताएका छन् ।

कोभिड–१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए ।

उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुवै हो ।’

यसैगरी उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगीकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्नेक्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको बताउँदै उनले यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष्य राखिएको उल्लेख गरे ।

निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ प्रधानमन्त्रीले पटकपटक स्मरण गरे । ‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका थिए, ताजा खानेकुरा खाने परम्परा बसाएका थिए र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका थिए,’ उनले भने ।

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए ।

यस्तै प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा सञ्चारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए ।

Loading...