बिदाको दिन पनि मेस्सी प्रशिक्षण मैदानमा

एजेन्सी, २५ भदौ । स्पेनिस क्लब बार्सिलोना हाल प्रि–सिजनको तयारीमा छ । शनिबार जिम्नास्टिक डी टारागोनासँग मैत्रीपूर्ण खेल्न लागेको बार्सिलोनाले सोही खेलका लागि तयारी गरिरहेको छ ।

नयाँ सिजनको तयारीस्वरुप बार्सिलोनाले सो खेल खेल्न लागेको हो । जोहान क्रुफ स्टेडियममा हुने सो खेलका लागि बार्सिलोना प्रशिक्षणरत छ । बिहीबार (आज) आफ्ना सबै खेलाडीलाई छुट्टी दिएको बार्सिलोनाले भोलि पुनः तयारी गर्नेछ ।

आज छुट्टी भए पनि कप्तान लियोनल मेस्सीले भने प्रशिक्षण गरेका छन् । बिदाको दिनमा पनि अर्जेन्टिनी स्टार मेस्सी प्रशिक्षणका लागि बार्सिलोनाको ट्रेनिङ कम्प्लेक्स आएका हुन् ।

सोमबारबाट प्रशिक्षणमा फर्किएका उनले आज एक्लै प्रशिक्षण गरेका थिए । क्लब छोड्ने निर्णय फिर्ता लिँदै केही दिनबाट प्रशिक्षणमा फर्किएका उनी आज सबैभन्दा छिटो ट्रेनिङ कम्प्लेक्स पुगेका थिए ।

Loading...