आइसोलेशनमा मन्त्री घिमिरेको दैनिकी : मन्त्रालयको काम फोनबाटै, बेसार–पानी र गुर्जाे नियमित

विराटनगर, २५ भदौ । कोरोना संक्रमण पुष्टि भएपछि प्रदेश १ सामाजिक विकास मन्त्री जीवन घिमिरे होम आइसोलेशनमा छन् । घिमिरे प्रदेश १ मा कोरोना संक्रमण पुष्टि हुने उच्च पदस्य व्यक्ति हुन् ।

संक्रमण नियन्त्रणका लागि अग्रमोर्चामा खटिएका घिमिरेको दैनिकी कोरोना संक्रमण पुष्टि भएयता परिवर्तन भएको छ । नियमित मन्त्रालयको काममा रहेका उनी आइसोलेशनमा छन् । आइसोलेशनमा दैनिकी कसरी बितिरहेको छ ? कोशी अनलाइनको प्रश्नमा मन्त्री घिमिरेले आफ्नो दैनिकी अध्ययन र मन्त्रालयको काममा बितिरहेको बताए ।

मन्त्री घिमिरेको आइसोलेशन अनुभव उनकै शब्दमा

संक्रमण पुष्टि भएपछि ४–५ दिन झाडापखला, ज्वरोलगायतको समस्या देखियो । त्यसपछि जिउ दुख्ने, टाउको दुख्ने समस्या पनि देखियो । खोकी अझै पनि छ । सुरुका केही दिन अलिक गाह्रो भयो । अहिले सामान्य हुँदैछ । आइसोलेशनमा बसेदेखि दैनिकी फेरिएको छ । सरसफाइ गर्ने, कपडा धुने, जडीबुटी सेवन गर्छु । मन्त्रालयको काम फोनबाट नियमित गरिरहेको छु ।

हरेक दिन बिहान ५ बजे उठ्छु । बिहान उठेर नियमित योगा ध्यान गर्छु । कोठा, शौचालय नियमित आफैं सफा गर्छु । आफूले प्रयोग गरेका लुगा–कपडा हरेक दिन धुन्छु । त्यसपछि आयुर्वेदिक औषधि खान्छु । औषधि धेरै भएका कारण समय लाग्छ । गुर्जाे, ज्वानो, बेसार पानी नियमित सेवन गर्छु ।

आयुर्वेदिक औषधि सेवन गर्दा बिहानको समय बित्छ । त्यसपछि मन्त्रालयको कामको बारेमा सचिवसँग आवश्यक ब्रिफिङ सुनेर निर्देशन दिन्छु । दिउँसोको समय अध्ययनमा बित्छ । नेताहरूका पुराना भाषण सुनिरहेको छु । जननेता मदन भण्डारी, गिरिजाप्रसाद कोइराला, प्रचण्ड, केपी शर्मा ओली, माधव नेपाल, शेरबहादुर देउवाले बोलेका पुराना भिडियोहरू हेर्छ ।

हास्यव्यंग्य पनि हेर्छु । मनोज गजुरेल, सन्दीप क्षेत्री, सुबोध गौतमका भिडियो नियमित हेर्छु । केही समय आराम पनि गर्छु । हरेक दिन बेलुका मन्त्रालयको कामका बारेमा ब्रिफिङ लिन्छु । खानापछि बेलुका औषधि लिन्छु । राति १० बजेपछि सुत्छु ।

व्यक्तिअनुसार प्रभाव पर्छ

कोरोना केही होइन, सामान्य रुघाखोकी मात्र हो भन्ने पनि सुनेको थिएँ । कोरोना संक्रमणबाट गम्भीर अवस्थाबाट फर्किएकाहरूको कुरा पनि सुनेँ । कोरोनाले व्यक्तिविषेशलाई फरक पार्दाे रहेछ ।

कसैका लागि संक्रमण देखिए पनि लक्षण देखिँदैन । कोहीलाई गाह्रो अवस्थामा पुर्‍याउन सक्छ । कमजोर छ भन्दैमा लापरवाही गर्न हुँदैन । आत्मबल दह्रो बनाएर बस्दा कोरोना संक्रमणलाई जितिन्छ ।

Loading...