तपाईंको घरमा आत्महत्या गर्ने मनस्थितिमा त कोही छैनन् ?

आत्महत्या गर्ने व्यक्तिले लक्षण देखाउँछन्, बेलैमा ध्यान दिए रोक्न सकिन्छ

डा. विवेक सुवेदी

आज विश्व आत्महत्या रोकथाम दिवस । पछिल्लो समय नेपालमा आत्महत्या दर बढ्दोक्रममा छ । यो समस्या १५ देखि ४० वर्ष उमेरका मानिसमा बढी देखिन्छ ।

कोरोना महामारी र यसले पारेको प्रभावले आत्महत्या दर बढाएको हो । जुन महिनासम्ममा नेपालमा १६ सय जनाले आत्महत्या गरिसकेका छन् । यो पहिलेको तुलनामा १५ प्रतिशतले बढी हो ।

आत्महत्याको कारण एउटा मात्रै हुँदैन । तर डिप्रेसनलाई आत्महत्याको मुख्य कारण मानिन्छ । आत्महत्याको कारण  डिप्रेसनसँगै अन्य मानसिक रोग पनि हो । ९५ प्रतिशत आत्महत्या मानसिक समस्याका कारण हुनेगर्छ ।

परिवारमा कोही मानसिक रोगी भएमा वा कसैले आत्महत्या गरेमा, लागूऔषधको प्रयोग, धेरै औषधिहरूको सेवन, साइकोटिक सिमटम्स, मुड तथा पर्सनालीटी डिस्अर्डर, बिछोड, आफन्तको मृत्यु, घरेलु हिंसा, बलात्कारलगायत कारण मानिसमा आत्महत्या गर्ने सोच आउन सक्छ ।

आत्महत्या गर्ने सोच बनाइसकेका मानिसहरूले विभिन्न लक्षण देखाउने गर्छन् ।

आत्महत्या गर्ने र आत्महत्याको विचार मनमा ल्याउने मानिस लामो समयसम्म उदास रहने, दिक्क मान्ने, जिन्दगीलाई बेकार सोच्ने, एक्लै बस्न मन पराउने, मानिससँग कुराकानी नगर्ने, नियमित गरिरहेको काम गर्न छोड्ने, कामप्रति रुचि हराउँदै जाने, नकारात्मक सोच्ने, निन्द्रामा समस्या आउने, जाँड-रक्सीको सेवन गरिरहने, आत्महत्या गर्दा कुन माध्ययमबाट सजिलै मर्न सकिन्छ भन्दै योजना बनाउने र आत्महत्याका लागि आवश्यक सामान किनेर ल्याउने गर्छन् ।

कुनै पनि व्यक्तिले एक्कासी आत्महत्याको प्रयास गर्दैन । आत्महत्या गर्ने व्यक्तिले आत्महत्या गर्नुभन्दा पहिला केही पूर्वसंकेतहरू दिने गर्छन् । यस्ता संकेतहरूलाई बुझेर समयमै उचित परामर्श तथा सहयोग गर्न सके मानिसलाई आत्महत्या गर्नबाट बचाउन सकिन्छ । आत्महत्याको रोकथामको लागि सबैको सहकार्य आवश्यक छ ।

मानिसले आत्महत्या गर्ने संकेत देखाएमा परिवारका सदस्य वा साथीभाइले सहयोगको आवश्यकता छ भन्ने बुझ्नुपर्छ । कुनै पनि व्यक्तिमा आएको व्यवहारको परिवर्तन, खानपान तथा निन्द्रामा समस्या, धेरै समय एक्लै बस्न थालेमा, सानो-सानो कुरामा रिसाउने, झर्किने तथा कराउने गरिरहेको वा रक्सीको अत्याधिक सेवन गर्न थालेमा परिवारले विशेष ध्यान दिनुपर्छ ।

एक्लै नछोड्ने, सँगै बस्ने, आत्मीय व्यवहार गर्ने, कुरा सुनेर समस्या बुझ्न खोज्ने, कराउनुको साटो सम्झाउनु पर्छ । तर, यति गर्दा पनि मानिसले तनाव व्यवस्थापन गर्न नसकेको खण्डमा तुरुन्त मानसिक रोग विशेषज्ञ तथा मनोरोग विशेषज्ञसँग परामर्श गर्नुपर्छ ।

सही, समयमा  समस्या पत्ता लगाउन सके औषधि तथा परामर्शले आत्महत्यालाई रोक्न सकिन्छ ।

मानसिक रोगका विषयमा मानिस खुलेर आउन चाहँदैनन् । जनचेतना जगाउन पनि आवश्यक  छ । आत्महत्या रोकथामका लागि गाँउघरमा आत्महत्या के कारणले गर्दा हुन्छ, किन हुन्छ, यसको रोकथाम कसरी गर्न सकिन्छ भन्ने विषयलाई रेडियो, टिभी सामाजिक सञ्जालका माध्यमबाट सचेतना जगाउनुपर्छ ।

मनोचिकित्सक, समाज सेवामा लागिपरेका व्यक्ति, आत्महत्या रोकथाम गर्न सहयोग गर्ने संस्था, तथा हटलाइन नम्बरबाट पनि परामर्श दिन सकिन्छ ।

तनाव व्यवस्थापन कसरी गर्ने ?

हामीले दैनिक गरिरहने कार्यलाई ब्यालेन्स गरेर अघि बढाउन सके तनाव व्यवस्थापन गर्न सकिन्छ ।

कोभिड-१९ को जोखिम कम गर्न सावधानी अपनाउँदै घरमा नियमित ब्यायाम गर्ने, हिँडडुल गर्ने, खानपानमा ध्यान दिने, पोषिलो खानेकुराको सेवन गर्ने, जाँड-रक्सी खैनी चुरोटको सेवन नगर्ने, आफूलाई काममा व्यस्त राख्ने, आफ्नो घरायसी तथा अफिसको काम गर्ने, आफूलाई मन पर्ने काम गर्ने, साथीभाइसँग कुरा गर्ने, साँझको समयमा पनि सामान्य ब्यायाम, योग तथा ध्यान गर्ने, गीत-संगीत सुन्ने, नाच्ने तथा थेरापी गरे मानिसिक रूपमा स्वस्थ्य रहन सकिन्छ ।

मानसिक स्वास्थ्यको लागि निन्द्रा पनि आवश्यक हुन्छ । दैनिक ७ देखि ८ घण्टा राम्ररी सुत्नु पर्छ ।

निन्द्रामा समस्या देखिएका मानिसले चिया-कफी थोरै मात्रामा खाने, खाना खाएको २-३ घण्टापछि सुत्ने, पानी प्रशस्त मात्रामा पिउने, मोबाइल नचलाउने, इन्टरनेटको प्रयोग नगर्ने, निन्द्रा नलागे सुत्नु अगाडि चिसो पानीले नुहाउँदा निन्द्राका समस्याहरू हट्दै जान्छन् ।  

फुर्सदिलो भएर नबस्ने केही न केही काम गरिररहने । काममा व्यस्त भइरहँदा मानसिक रूपमा स्वस्थ रहन सकिन्छ ।

जीवनशैलीमा परिवर्तन ल्याए तनावलाई व्यवस्थापन गर्न गाह्रो छैन । शारीरिक र मानसिक दुवै रूपले स्वस्थ रहँदा मन पनि राम्रो हुने र स्फूर्ति पनि बढ्छ  ।

(विराट मेडिकल कलेजका मनोचिकित्सक सुवेदीसँग अंकिता ताम्राकारले गरेको कुराकानीमा आधारित)

Loading...