सुरक्षित रूपमा जितिया पर्व मनाउन सभापति देउवाको आग्रह

काठमाडाैं, २५ भदाै । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जितिया पर्वको अवसरमा सम्पूर्ण थारु महिलाहरूमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

उनले बिहीबार एक शुभकामना सन्देशमार्फत जितिया पर्वले आफ्ना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षणमा लाग्न सबैलाई प्रेरित गर्दै सामाजिक सद्भाव बढाउनुका साथै जन–जीवनमा गहिरो छाप र विशिष्ट पहिचान बनाएको उल्लेख गरे ।

कोरोना भाइरसको महामारीका कारण जनजीवन कष्टकर बनेको यस परिस्थितिमा यसको जोखिमलाई दृष्टिगत गर्दै सामाजिक दूरी कायम गरेर सुरक्षितरूपमा जितिया पर्व मनाउन सभापति देउवाले आग्रह गरे ।

उनले यो पर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धि गर्न सबैलाई प्रेरित गर्न सकोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

जितिया पर्व नेपालको तराईमा विशेषतः थारु महिलाहरूले निराहार व्रत बसेर परिवारका सदस्यको स्वास्थ्य तथा दीर्घायुको कामना गर्दै मनाउने गरिन्छ । रासस

Loading...