सिल्भालाई चेल्सी जान नेयमारको सुझाव

एजेन्सी, २५ भदौ । ब्राजिलियन स्टार नेयमारले सहकर्मी थियागो सिल्भालाई चेल्सी जान सुझाव दिएको बताइएको छ । ‘द टेलिग्राफ’का अनुसार पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमारले फ्रान्स छोडेर लण्डन क्लब जान सिल्भालाई सुझाव दिएका थिए ।

पीएसजीका कप्तानसमेत रहेका सिल्भा हालै मात्र प्रिमियर क्लब चेल्सीमा अनुबन्ध भएका थिए । ३५ वर्षीय सिल्भालाई चेल्सीले फ्री ट्रान्सफरमा अनुबन्ध गरेको हो ।

सन् २०१२ मा फ्रान्सको राजधानी पेरिस आएका उनी आठ वर्ष पीएसजी बसाइ बिट मार्दै चेल्सी गएका हुन् । आठ वर्षअघि इटालियन क्लब एसी मिलानबाट पीएसजी आएका उनले सात वटा लिग वानसहित २३ वटा उपाधिहरू जितेका छन् ।

सिल्भालाई राष्ट्रिय टोलीका सहकर्मी नेयमार र विलियनले चेल्सीका लागि सुझाव दिएको टेलिग्राफका खेल पत्रकार जासोन बर्टले जनाएका छन् ।

त्यसबाहेक एजेन्ट पिनी जाहेवीको सल्लाहमा उनी लण्डन क्लब गएको बताइएको छ ।

यसैगरी चेल्सीका प्रशिक्षक फ्रान्क लाम्पार्डसँगको सुमधुर सम्बन्ध र पछिल्ला कुराकानीका कारण थियागो चेल्सी गएका खबरमा उल्लेख छ ।

यस्तै प्रिमियर लिग खेल्ने तीब्र चाहनाका कारण उनी लण्डन गएको टेलिग्राफमा उल्लेख छ ।

Loading...