युभेन्टसको धेरै तलब थाप्ने दोस्रो खेलाडी बन्दै डेबाला

एजेन्सी, २५ भदौ । युभेन्टसका फरवार्ड पाउलो डेबालाले क्लबसँग नयाँ सम्झौता गर्ने तयारी गरेका छन् । स्पेनिस मिडिया ‘मार्का’का अनुसार अर्जेन्टिनी स्टार डेबाला र युभेन्टस नयाँ सम्झौताको नजिक पुगेका छन् ।

युभेन्टसका महत्त्वपूर्ण खेलाडीमध्ये एक डेबालाले सम्झौता लम्ब्याउने तयारी गरेको खबरमा उल्लेख छ । २६ वर्षीय डेबालाका एजेन्ट जर्ज एन्टम र युभेन्टसका खेल निर्देशक फाबियोबीच नयाँ सम्झौतालाई लिएर छलफल भएको खबरमा जनाइएको छ ।

खबरका अनुसार डेबालाले युभेन्टससँग पाँच वर्षे सम्झौता गर्न लागेका छन् । युभेन्टस र डेबालाबीच ‘बम्पर डिल’ हुन लागेकाे रिपोर्टहरूकाे दाबी छ ।

क्लबको सबैभन्दा धेरै तलब खाने दोस्रो खेलाडी बन्नेगरी डेबाला र युभेन्टसबीच सम्झौता हुन लागेको पनि बताइएको छ ।

हाल युभेन्टसबाट सबैभन्दा धेरै कमाउनेमा पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो छन् । उनले त्यहाँबाट प्रतिसिजन ७ मिलियन युरो कमाउँछन् । बोनससमेत गरेर रियल मड्रिडका पूर्वस्टार रोनाल्डोको कमाइ १० मिलियन हुने रिपोर्टमा उल्लेख गरिएको छ ।

अब, रोनाल्डोभन्दा केही कम तलबमा डेबालाले सम्झौता गर्ने इटालियन मिडिया ‘टुट्टोस्पोर्ट्स’ले जनाएको छ ।

डेबालामाथि फ्रेन्च क्लब पीएसजी र रियल मड्रिडको नजर रहेको बताइन्छ । तथापि, युभेन्टसले भने उनलाई यो समरमा नबेच्ने प्रष्ट पारिसकेको छ ।

Loading...