अन्योलमा एन्फा

काठमाडौ, २५ भदौ । युरोपियन राष्ट्रमा यतिबेला खेलाडी बजारले फुटबल तरङ्गित बनाएको छ । अन्तर्राष्ट्रियस्तरमा विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) को मापदण्डलाई अपनाउँदै फुटबल गतिविधि फर्किएका छन् । केहीले नयाँ सिजन सुरु गरिसकेका छन् भने केहीले तयारीलाई तीव्रता दिइरहेका छन् । तर नेपालमा भने अझै अनिश्चित छ । सरकारले जारी गरेको निर्देशनका कारण फुटबल भर्चुअलमा खुम्चिँदै छ ।

एसियाली राष्ट्रमा महामारीको प्रकोप नदेखिएको भए यति बेला राष्ट्रिय टोलीले कतार विश्वकप छनोटका लागि अभ्यासलाई तीव्रता दिइरहेको हुन्थ्यो । अभ्यास थाल्न नेपाली फुटबलको सर्वोच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले काठमाडौ उपत्यका र उपत्यकाभन्दा बाहिर गएका खेलाडीलाई भेला पनि पारेको थियो । तर विश्वकप छनोट खेल स्थगित भएपछि काठमाडौं आएका खेलाडी निरास हुँदै घर फर्किए ।

फुटबलमा फर्किन आतुर भएका खेलाडी फिटनेसको विषयमा चिन्तित देखिएका थिए । अहिले अन्योलको अवस्थामा प्रदेशका प्रशिक्षकहरुबीच अनलाइन मिटिङ गरिरहेको र जिल्लाका पदाधिकारीहरुसँग पनि छलफलको क्रममा रहेको एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले बताए । छलफलपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा निर्णय हुने उनको भनाइ छ ।

खेलाडी फुटबलमा फर्किन आतुर भएजस्तै एन्फा पनि गतिविधि सुचारु गर्न आतुर नै छ । तर सरकारले लगाएको अंकुश र महामारीले गर्दा अन्योल देखिएको छ । एन्फाले सरकारबाट अनुमति पाए डब्ल्यूएचओ र फिफा गाइडलाइनलाई पूरा गर्दै फर्किन सकिने अध्यक्ष शेर्पाले बताए ।

युरोपमा कोरोना कहरकै बीच फुटबलसहित खेलकुद गतिविधि सञ्चालनमा आइसक्दा छिमेकी देशहरुमा समेत डब्ल्यूएचओको प्रोटोकलअनुसार खेलकुद गतिविधि अघि बढ्न खोज्दैछन् । तर नेपालमा भने खेलाडी घरेलु अभ्यासमा सीमित छन् । खेलकुदका जिम्मेवार निकायले कोरोना कहरको कारण देखाउँदै विकल्पको बाटो नदेखाउने हो भने प्रतियोगितामा सहभागी हुन खेलाडीलाई फिटनेसको समस्य अवश्य देखिन्छ । त्यसको असर नतिजमा सहज पर्नेछ ।

Loading...