नेपालमा कोरोना संक्रमितको संख्या ५० हजार नाघ्यो

विराटनगर, २५ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५० हजार नाघेको छ ।

बिहीबार थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५० हजार ४६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले विभिन्न ३९ प्रयोगशालामा गरिएको ११ हजार १४४ जनाको परीक्षणमा थप १२ सय ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए ।

कुल संक्रमितमध्ये सक्रिय संक्रमितको संख्या १४ हजार ४४८ रहेको छ ।

यता, नेपालमा कोरोनामुक्त हुनेको संख्या ३५ हजार ७०० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १८ सय १८ जना कोरोनालाई जितेर घर फर्किएका छन् ।

यसैगरी पछिल्लो २४ घण्टामा थप पाँच जनाकाे ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेकाे संख्या ३१७ पुगेकाे मन्त्रालयले जनाएकाे छ ।

Loading...