पीएसजीको उपाधि रक्षा अभियान आजबाट सुरु

एजेन्सी, २५ भदौ । डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी)ले आजबाट नयाँ सिजनको फ्रेन्च लिग वानको सुरुआत गर्दैछ । आज लेन्ससँग खेल्दै पीएसजीले उपाधि रक्षा अभियान सुरु गर्दैछ ।

लेन्सको मैदानमा हुने यो खेल नेपाली समयानुसार राति १२ः४५ बजेबाट सुरु हुनेछ । २१ अगस्टबाट सुचारु भएको लिगमा पीएसजीले आज पहिलो खेल खेल्न लागेको हो ।

च्याम्पियन्स लिगको फाइनल खेलेको उसले आफ्नो तालिका सारेर आजबाट सुरु गर्ने भएको हो ।

लेन्सले भने यसअघि एउटा खेल खेलिसकेको छ । यसअघि ऊ नाइससँग पराजित भएको थियो । यसैले आजको खेलमा दुवै टोली अंक जोड्ने दाउमा हुनेछन् ।

आज पीएसजी आफ्ना स्टार खेलाडीहरूविना नै मैदान उत्रिँदैछ । उसका स्टार नेयमार र किलियन एम्बाप्पेसहित ७ खेलाडीमा कोरोना संक्रमण देखिएको छ । र, उनीहरू आइसोलेशनमा रहेका कारण पीएसजी स्टार खेलाडीविहीन छ ।

Loading...