आइसोलेसनका लागि प्रदेश सरकारले पठायो एक करोड १० लाख

विराटनगर, २५ भदौ । प्रदेश १ सरकारले स्थानीय पालिकाहरुलाई कोरोनासँग लड्नका लागि थप बजेट उपलब्ध गराएको छ । प्रदेश १ सरकारले कोरोना रोकथाम, नियन्त्रण र उपचारको व्यवस्था मिलाउनका लागि स्थानीय पालिकाहरुलाई एक करोड १० लाख रुपैयाँ उपलब्ध गराएको हो ।

प्रदेश सरकारले स्थापना गरेको कोरोना जनसुरक्षा कोषबाट आइसोलेसन केन्द्र स्थापना तथा सञ्चालनका लागि स्थानीय पालिका, जिल्ला अस्पताल, प्रशसनलगायतलाई आवश्यक रकम पठाएको हो ।

प्रदेश सरकारले मोरङको सुनवर्षी नगरपालिका, रतुवामाई नगरपालिकालाई १०–१० लाख, धनपालथान गाउँपालिका, जहदा र कटहरी गाउँपालिकालाई ५–५ लाखका दरले आइसोलेसन केन्द्र स्थापना र सञ्चालनका लागि रकम पठाएको छ ।

उदयपुरको चौदण्डीगढी नगरपालिकालाई १० लाख, झापाको गौरीगञ्ज र कमल गाउँपालिकालाई ५–५ लाख रकम प्रदेश सरकारले पठाएको छ ।

इलाम अस्पताल इलामलाई १० लाख, उदयपुर अस्पतालाई १५ लाख, सुनसरीको झुम्का कारागारलाई १० लाख रकम पठाएको छ ।

सुनसरी जिल्लाको क्वारेन्टिन, आइसोलेसन र होल्डिङ सेन्टरको व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालय सुनसरीलाई १० लाख र प्रदेश प्रहरी कार्यालय परिसरभित्रको आइसोलेसन व्यवस्थापनका लागि प्रदेश प्रहरी कार्यालयलाई १० लाख रकम उपलब्ध गराएको हो ।

स्थानीय पालिकाहरुको आवश्यकता र मागबमोजिम प्रदेश सरकारले आवश्यक रकम उपलब्ध गराउँदै आएको मुख्यमन्त्री शेरधन राईले बताए । कोभिड महामारी नियन्त्रणका लागि तीन तहका सरकारबीच आवश्यक समन्वय र सहकार्य भइरहेको उनले बताए ।

Loading...