एम्बुलेन्समा विराटनगर ल्याइयो, अस्पतालले भर्ना नगरेपछि घर फर्काउन हेलिकप्टर चार्टर

विराटनगर, २५ भदौ । विराटनगरका अस्पतालले उपचार गर्न नमानेपछि खोटाङबाट ल्याइएका एकजना बिरामी वृद्धलाई परिवारले हेलिकप्टर चार्टर गरेर घर फर्काएका छन् ।

खोटाङको दिक्तेल-रुपकोट-मझुवागढी नगरपालिका-६ का ८१ वर्षीय वृद्ध डिगबहादुर राईको उपचार गर्न विराटनगरका छवटा अस्पतालले अस्वीकार गरेपछि परिवारले हेलिकप्टर चार्टर गरेर घर फर्काएका हुन् ।

नाति विके चाम्लिङका अनुसार उच्च रक्तचापको पुरानो समस्या रहेका वृद्धलाई १९ भदौमा एम्बुलेन्समा राखेर उपचारका लागि विराटनगर ल्याइएको थियो । तर अस्पताललहरुले उपचार गर्न नमानेपछि बुधबार साँझ फर्काएर गाउँ नै लगिएको उनले बताए । अस्पतालले भर्ना नगरेपछि उनलाई आफन्तकोमा राखिएको थियो ।

स्वास्थ्यमा एक्कासी समस्या भएर बेहोस बनेसँगै दिक्तेलबाट चिकित्सकले रेफर गरिदिएपछि वृद्धलाई भतिज धनकुमार राईले एम्बुलेन्समा राखेर विराटनगर ल्याएका थिए ।

राति १२ बजे मोरङ सहकारी अस्पताल लगिएको थियो । तर अस्पतालले भेन्टिलेटर आवश्यक पर्ने भन्दै भर्ना गर्न मानेन ।

त्यसपछि विराट नर्सिङ होमले सिटी स्क्यान गरे पनि वृद्धको उपचार गर्न भने मानेन । ‘सुरुमा अस्पतालको गेटबाटै भित्र पस्न दिएको थिएन । उच्च रक्तचापको समस्या भएको बिरामी भनेपछि लगेर सिटी स्क्यान चाहिँ गरिदिए,’ उनले भने, ‘त्यसपछि टाउकामा रगत जमेको छ भन्दै भर्ना लिन अस्वीकार गरियो ।’

त्यसपछि गोल्डेन अस्पताल लगेका थिए । गोल्डेनले पनि ठेगाना सोधेर भर्ना गर्न नसक्ने बतायो । त्यसपछि ग्रीनक्रस अस्पतालले पीसीआर परीक्षण रिपोर्टसहित आउन भन्दै फर्काइदियो ।

२० भदौं बिहानको राति २ बजेतिर सप्तकोसी नर्सिङ होम पुर्‍याइए पनि वृद्धको उपचारका लागि अस्पतालको गेट खुलेन । बिहान साढे ३ः३० बजे म्याक्स अस्पताल लगेका थिए । म्याक्सले पनि फिर्ता गरेपछि विराटनगर महानगरपालिका-११ स्थित आफन्तको घरमा लागेर राखिएको थियो ।

त्यसपछि उपचार हुने आसमा धेरै अस्पतालसँग सम्पर्क गरेर पाँच दिनसम्म विराटनगरमै राखिएको उनको भनाइ छ । ‘उपचार गराउन पाइन्छ कि भन्ने आस थियो । तर कुनै अस्पतालले भर्ना लिन मानेनन्,’ उनले भने, ‘स्वास्थ्य अवस्था खराब बन्दै गएकाले विराटनगरभन्दा बाहिरका अस्पतालमा उपचार गर्न लैजाने सम्भावना पनि टरेर गयो । बेहोस बनेर ल्याइए पनि हजुरबुबालाई अचेत र झन् गम्भीर अवस्थामा फर्काएर गाउँ लैजानु पर्‍यो ।’

विराटनगरको आसमै लामो समय खर्चिएपछि काठमाडौंलगायतका विभिन्न ठाउँका सुविधासम्पन्न अस्पतालमा लगेर उपचार गराउन सम्भव नभएपछि घर फर्काइएको उनले बताए ।

‘विराटनगरमा उपचार पाइँदैन भनेको भए सुरुमै हामी काठमाडौं लैजाने थियौं,’ उनले भने, ‘तर अहिले समय घर्किएपछि न त अन्त लैजान पाइयो, न जीवनको अन्तिम अवस्थामा हजुरबुबाले उपचार नै पाउनु भयो ।’

त्यसपछि तीन लाख २२ हजार सात सय रुपैयाँमा मनाङ एयरको हेलिकप्टर चार्टर गरेर गाउँ फर्काइएको उनले बताए ।

विराटका प्रशासन प्रमुख पदम विनाडीले अरु नै समस्या लिएर आउने बिरामीमा कोरोना हुनसक्ने भएकाले पीसीआर परीक्षण गराइएकालाई मात्रै उपचारमा प्राथमिकता दिने गरिएको बताए ।

बिरामीलाई गाउँ फर्काउने हेलिकप्टर झिकाउन मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले पहल गरिदिएका थिए । ‘गुनासो नआएकाले बिरामीले अस्पतालबाट उपचार नपाएको कुरा मलाई जानकारी भएन । तर माग गरेपछि हेलिकप्टर झिकाउने वातावरण मिलाइदिएको हुँ,’ उनले भने, ‘उपचार सम्भव नभएकाले गाउँ फर्काएर लगिएको हुन सक्छ । हेलिकप्टर चार्टर गरेर बिरामीलाई गाउँ फर्काउनेले अन्त पनि लगेर उपचार गराउन सक्थे ।’

Loading...