‘रोनाल्डोले ४० वर्षको उमेरसम्म खेल्न सक्छन्’

एजेन्सी, २५ भदौ । वेल्सका प्रशिक्षण रियान गिग्सले पूर्वसहकर्मी क्रिस्टियानो रोनाल्डो ४० वर्षको उमेरसम्म मैदानमा रहनसक्ने बताएका छन् । म्यानचेस्टर युनाइटेडमा एकसाथ खेलेका पोर्चुगिज स्टार रोनाल्डोको प्रशंसा गर्दै गिग्सले यस्तो बताएका हुन् ।

३५ वर्षीय रोनाल्डोले हालै मात्र पोर्चुगलका लागि १०१औं गोल गरेका थिए । इटालियन क्लब युभेन्टसबाट खेलिरहेका रोनाल्डोले गत सिजन सिरी ‘ए’मा ३१ गोल गरेका थिए । रोनाल्डो र गिग्सले ६ वर्ष युनाइटेडबाट एकसाथ खेलेका थिए ।

गिग्सले सन् १९९० बाट २०१४ सम्म २४ वर्ष युनाइटेडका लागि खेले । युनाइटेडबाट मात्र क्लब फुटबल खेलेका गिग्स सहकर्मी रोनाल्डो ४० वर्षको उमेरसम्म खेल्न सक्नेमा विश्वस्त छन् ।

‘उनी पक्कै पनि सही क्लबमा छन् । म पनि उत्कृष्ट क्लबमा थिएँ र मैले ४० वर्षका उमेरसम्म खेलेको थिएँ । म चाहन्छु कि उनी पनि ४० वर्षको उमेरसम्म खेलून र खेल्नेछन् पनि’, गिग्सले ‘पीए न्यूज’सँको कुराकानीमा भने ।

‘रोनाल्डो खेल्नका लागि बाँचेका छन् । उनी उत्कृष्ट व्यवसायिक खेलाडी हुन्, जोसँग मैले खेलेको थिएँ । मैले उनको सुरुआती करिअर देखेको छु । गोल गर्नमा माहिर उनी प्रतिभावान र उत्कृष्ट खेलाडी हुन् । मेहनती छन्, जहिल्यै जिममा हुन्छन् । उनले एक सिजन म्यानेस्टर युनाइटेडबाट ४० गोल गरेर सबैलाई अचम्ममा पारेका छन्’, उनले थपे ।

Loading...