रङविनाका रङ्गकर्मी

दीपक कटवाल

कोभिड १९ माहामारीका कारण विश्व आक्रान्त छ । कोरोना नियन्त्रणका लागि छ महिनायता सबै क्षेत्र प्रभावित छ ।

नेपालमा कोरोना भाइरसको असर सबै क्षेत्रमा परेको छ । अझ होटल व्यवसाय, स्कुल, कलेज, फिल्म र रङ्ग (नाट्य) क्षेत्रलाई बढी असर परेको छ । सधैं पीडामा रहेको रङ्गमञ्च क्षेत्र त झन् थलिएको अवस्थामा छ ।

नेपालको रङ्गमञ्च क्षेत्र लामो समय पार गरेर यहाँसम्म आइपुग्दा पनि रङ्गकर्मीले सुखको सास फेर्न सकेका थिएनन् । रङ्गकर्मीहरुलाई न त सरकारले हे¥यो न त समाजले । अझ मोफसलमा बसेर रङ्गकर्ममा लागेकाहरु आर्थिक समस्यामा गुज्रिरहेका छन् । मुस्किलले थोरै नाटक फाइदामा चल्छन् । हामीले भर्खरै समाजलाई रङ्गमञ्च बुझाउँदै थियौं । दर्शक नाटकघरसम्म आउन थालेका थिए । नाट्य क्षेत्रको विकासको क्रम बढ्दै थियो, काठमाडौ बाहिर नाटकघर निर्माण हुँदै थिए विराटनगर, धरान, काँकडभिट्टा, दमक, पोखरा, चितवनमा नियमित नाटकहरु मञ्चन हुन लागेका थिए । तर कोरोनाले फेरि पछाडि धकेलिदिएको छ ।

म एक रङ्गकर्मी हुँ । सात वर्षयता पूर्वमा रहेर रङ्गमञ्चमा खुसी खोजिरहेको छु । गत वर्ष हाम्रो संस्था विराट आदर्श साहित्य मञ्चले पोखरामा ‘मुनामदन’, विराटनगरमा ‘छिँडीभरिको आकास’ र ‘बहुलाकाजीको सपना’ नाटक मञ्चन गरेका थियौं । जसबाट रङ्गमञ्चमा काम गर्ने कलाकारहरुलाई पारिश्रमिक दिन सकेका थियौं । २० वैशाखबाट पोखरामा पुनः ‘मुनामदन’ मञ्चनको तयारीमा जुटेका थियौं । ‘नालापानीमा’ नाट्य सम्पादन गर्न म पनि व्यस्त थिएँ । तर ११ चैतबाट जारी गरिएको लकडाउनका कारण रङ्गकर्मीको हातखुट्टा भाँचिएजस्तै भएको छ ।

प्रदेश १ मा मात्र रङ्गमञ्चमा आबद्ध करिब एक हजारभन्दा बढी हुनुहुन्छ । उहाँहरु सबैको गरी खाने बाटो बन्द भएको छ । भर्खर अगाडि बढ्दै गरेको रङ्ग क्षेत्र पूर्णरुपले थलिएको छ ।

हामी रङ्गकर्मीले सचेतनामूलक कला प्रस्तुत गरेर समाजलाई चेतना जोगाइरहन्छौं । सरकारका विभिन्न कामको प्रचारप्रसार गर्न हामी रङ्गकर्मी विभिन्न ठाउँमा पुगेका छौं । स्थानीय चुनाब होस् या केन्द्रको टोलटोलमा सचेतना फैल्याएका छौं ।

धुम्रपान र मध्यपानका विरुद्ध कलाका माध्यमबाट चेतना जोगाएका छौं । समाजका दलित, पिछडा वर्ग र अन्यायमा परेकाहरुको कलाका माध्यमबाट आवाज बनेका छौं ।

११ चैत्रबाट सरकारले देशभरि लकडाउनको घोषणा गरेसँगै नेपालका सबै नाटकघरहरु बन्द छन् । हामीले काम गर्न पाएका छैनौं । रङ्गकर्मी यसै त आर्थिकरुपमा कमजोर छौं, त्यसमाथि कोरोना र लकडाउनले आयस्रोत नै बन्द गरिदिएको छ । कोठा भाडामा बस्ने कलाकारहरु आर्थिकरुपमा कमजोर भएका छ्न् । रङ्ग पेशा नै अँगालेका रङ्गकर्मीहरुको गोजी रित्तिएको छ । घरमा भएको चामलको बोरा रित्तिएको छ, आउने बाटो कतै छैन ।

कला प्रस्तुत गर्न समूह चाहिन्छ, जुन अहिलेको अवस्थामा असम्भव छ । के गरौं कसो गरौंको अवस्थामा छौं । आफ्नो रङ्ग उडेको अनुहारले टुलुटुलु हेर्नबाहेक अन्य विकल्प छैन हामीसँग । सबै रङ्गकर्मी गलेका छन् । सबैको अनुहारको रङ्ग फिक्का भएको छ ।

यस्तो अवस्थामा न त केन्द्र सरकारले हाम्रो अवस्था बुझेको छ न त स्थानीय सरकारले नै हेरेको छ । लकडाउनको घोषणा ग¥यो, न त कोरोना महामारी नियन्त्रणमा आयो न त हामीले काम गर्न पाएका छौं ।

गोजी रित्तिएको छ । मनमा आशाबाहेक अन्य केही विकल्प छैन । मजस्ता हजारौं रङ्गकर्मी निस्कृय भएका छौं । हामीसँग अहिलेको अवस्थामा सरकारले जारी गरेको लकडाउनको पालना गरेर बस्नुभन्दा अर्काे विकल्प छैन । सरकारले रङ्गकर्मीहरुको खोजी गरी समस्यामा परेकाहरुलाई सहयोग गर्न आवश्यक रहेको छ ।

Loading...